शनिबार, पुस ५, २०८२

१५ महिनादेखि विपिन जोशीको सकुशल फिर्तीको प्रतीक्षा

 |  शुक्रबार, पुस २६, २०८१

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस २६, २०८१

कञ्चनपुर- सुदूरपश्चिम विश्वविद्यालयको कृषि विज्ञान विषयमा ‘अर्न एण्ड लर्न’ कार्यक्रमअन्तर्गत इजरायल पुगेका विपिन जोशीलाई हमासले नियन्त्रणमा लिएको १५ महिना बितेको छ।

National life

छोरासँग सम्पर्क टुटेको १५ महिना भइसक्दा पनि छोराबारे कुनै खबर नआउँदा जोशी परिवारका आँखा ओभाएका छैनन्। पढाइसँगै कमाइ गर्न इजरायल पुगेका विपिनसँग सम्पर्क टुटेदेखि बुबा महानन्द, आमा पद्मा र बहिनी पुष्पा विरक्त छन्।

मोबाइलमा समाचार हेर्दै विपिनको सुखद् खबरको आशामा दिन बित्न थालेका छन्। छोराको अवस्थाबारे बेखबर विपिनका बुबाआमाले भीमदत्त नगरपालिका–३ स्थित आफ्नै निवासमा विपिनको सकुशल रिहाइको कामना गरिरहेका छन्। जोशी परिवार विपिनको सकुशल घर फिर्तीको पर्खाइमा छ।

“छोरा आउने आशामा १५ महिना बितिसके, मेरो छोरा विपिनलाई सकुशल कहिले ल्याइदिने हो सरकार ?” विपिनका आमा पद्माले भनिन्, “मेरो छोरालाई सकुशल घर ल्याउन सरकारले पहल गरिदेओस्।” जोशी परिवारले छोराको रिहाइका लागि सरकारसँग अनुनय गरिरहेको छ। छोराको रिहाइका लागि मन्त्री, परराष्ट्रमन्त्री, प्रधानमन्त्री, राजदूत सबैलाई भेटेर विपिनको रिहाइका लागि अनुनय गरिसकेका छन्।

हमासले ३४ जना बन्दी छोड्ने खबरले आमाबुबाको मलिन अनुहारमा थोरै भए पनि खुसीका रेखा देखापरे। तर जब त्यो लिष्टमा छोरा विपिनको नाम छैन भन्ने समाचार आयो अनुहार निन्याउरा भए। “अहिलेसम्म अन्य देशका नागरिक धेरै छुटिसके”, आमा पद्माले भनिन्, “अब छुट्ला अब छुट्ला भन्दाभन्दै आशामै डेढ वर्ष बितिसके।”

Laxmi sunrise bank
kumari

हमास समूहले इजरायलको दक्षिणी क्षेत्रस्थित अलिमुम, किबुजबाट नियन्त्रणमा लिएको इजरायल सरकारले जानकारी गराएको थियो । त्यसयता विपिनको अवस्था अज्ञात छ । अध्ययनसँगै कमाइ गर्ने कार्यक्रमअन्तर्गत सुदूरपश्चिम विश्वविद्यालयमा ३९ विद्यार्थी इजरायल गएका थिए ।

त्यहाँ पुगेको एक महिनामै हमास समूहले आक्रमण गरेको थियो । हमासको आक्रमणमा परी १० नेपाली विद्यार्थीको ज्यान गएको थियो । “अरू देशका नागरिक बेलाबेला छुटिरहेका छन्, हाम्रो सरकारको पहल पुगेन कि ?”, विपिनका बुबा महानन्दले भने, “मन्त्री, प्रधानमन्त्री र राष्ट्रपतिसम्म सबैलाई भेटेर छोराको रिहाइका लागि अनुनय गरिसक्यौँ।” उनले सबैबाट पहल गरिरहेका छौँ बाहेकको जवाफ पाउन नसकेको बताए।

“जसरी हुन्छ सरकारले छोरोको रिहाइलाई पहल गरिदिनुपर्यो”, जोशीले भने, “सरकारले कतारसँग कूटनीतिक पहल गरिदिए छोराको रिहाइ हुन्थ्यो कि।” गत कात्तिकमा प्रधानमन्त्री, गृहमन्त्री र परराष्ट्रमन्त्रीलाई पनि भेटेका जोशी परिवारले छोराको रिहाइका लागि आग्रह गरिसकेका छन् । कतारका राजा आमिर तमिमबिन हमाद अल थानी नेपाल भ्रमणमा आउनुअघि पनि विपिनका परिवारले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेर रिहाइका लागि पहल गरिदिने आग्रह गरेका थिए ।

“जसले बढी पहल गर्यो उसले पनि त्यही देशका नागरिक पहिला रिहा गर्ने हो”, बुबा महानन्दले भने, “नेपाल सरकारले कतारसँगै बढी पहल गर्नुपर्छ।” गत सोमबार मात्र विपिनका परिवार र आफन्तले विपिनकोे तस्बिर सामाजिक सञ्जालमा राख्दै जन्मदिनको शुभकामना दिँदै सकुशल रिहाइका लागि अनुनय गरेका छन्। परिवारका सदस्यले सरकारको तर्फबाट कूटनीतिक पहल हुन नसकेको भन्दै विपिनको रिहाइका लागि सरकारसँग आग्रह गरेका छन्।

“अहिले पनि विपिन सकुशल फर्केर आउनेमा पूरा विश्वास छ”, विपिनका दाजु किशोर जोशीले भने, “सरकारले पहल गरिदियो भने चाँडै आउने थियो, तर सरकारको पहल पुगेन कि भन्ने महसुस भएको छ।” उनले अन्य मुलुकले आफ्ना देशका नागरिकलाई रिहाइ गरिसक्दा नेपालले एकजना नागरिकसमेत रिहा गर्न नसकेको बताए।

प्रकाशित: Jan 10, 2025| 09:01 शुक्रबार, पुस २६, २०८१
प्रतिक्रिया दिनुहोस्