शनिबार, पुस ५, २०८२

हुम्लाको खार्पुनाथमा औषधि अभाव

 |  शुक्रबार, पुस २६, २०८१

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस २६, २०८१

हुम्ला- खार्पुनाथ गाउँपालिकामा औषधि अभाव भएको छ। गाउँपालिकाभित्र रहेका सबै स्वास्थ्य संस्थामा एक महिनादेखि औषधि अभाव भएको हो। 

National life

सरकारले निःशुल्क वितरण गर्ने औषधि अभाव हुँदा बिरामी समस्यामा परेका स्वास्थ्यकर्मीले बताएका छन्। गाउँपालिकामा चार स्वास्थ्य चौकी, एक सामुदायिक अस्पताल, एक आधारभूत स्वास्थ्य केन्द्र र ६ आधारभूत स्वास्थ्य एकाइ छन्।

ती स्वास्थ्य संस्थामा बिरामी जाने गरेका भए पनि औषधि नहुँदा उपचारबिना फर्किने गरेका छन्। स्वास्थ्यचौकीमा औषधि लिन पुग्दा स्वास्थ्यकर्मीले औषधि छैन भनेर फर्काइदिने गरेको रायाँ गाउँका दलसुर परियारले बताए। स्वास्थ्य संस्थामा सिटामोलका साथै रुघाखोकी, दमलगायतका बिरामीका लागि आवश्यक पर्ने औषधि अभाव भएको छ।

सो गाउँपालिकाका स्वास्थ्य संयोजक हरिभक्त शाहीका अनुसार औषधि खरिदका लागि बोलपत्र आह्वान ढिला गरेका कारण औषधि अभाव भएको हो। दशैँअघि रु पाँच लाखको औषधि खरिद गरिद गरेको उनले बताए। 'दशैँमा खरिद गरेको औषधि सकिएको छ,' उनले भने।

गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत विष्णुबहादुर शाहीले यहाँका स्वास्थ्य संस्थामा चाहिने औषधि र उपकरण खरिद गर्न टेण्डर आह्वान भएर स्वीकृत भएको बताउनुभयो। माघ पहिलो सातासम्म औषधिको व्यवस्था गरिने उनले बताए।

Laxmi sunrise bank
kumari

स्वास्थ्य चौकीमा औषधि अभाव हुँदा उपचारका लागि बिरामी जिल्ला अस्पताल सिमकोट धाउने गरेका छन्। खार्पुनाथ–१ को पिउस आधारभूत स्वास्थ्य एकाइ, वडा नम्बर ३ को कारङगा, वडा नम्बर ४ को लेख, छिप्रा आधारभूत स्वास्थ्य एकाइ, वडा नम्बर ५ को दुर्पा र ताक्ला आधारभूत स्वास्थ्य एकाइमा औषधि अभाव भएको हो।

प्रकाशित: Jan 10, 2025| 08:11 शुक्रबार, पुस २६, २०८१
प्रतिक्रिया दिनुहोस्