बुधबार, साउन १३, २०८३

एक अर्बमा दुई रेल किन्दै सरकार, कहिले आउँछ नेपाल ? 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
जनकपुर- जयनगर रेल सञ्चालन हुन अझै चार महिना कुर्नुपर्ने भएको छ । डिसेम्बर २०१८ बाटै रेल सञ्चालन हुने बताइए पनि पूर्वाधार तयार नहुँदा जनकपुर–जयनगर रेल सेवा सञ्चालनमा आउन नसकेको हो ।

रेल सञ्चालन गर्न स्टेसन, कार्यालयजस्त भौतिक पूर्वाधार तयार भइसक्दा पनि ट्र्याक अझै तयार हुन नसकेको बताइएको छ । यसैगरी आफ्नो इन्जिन र दक्ष जनशक्ति नहुँदा अनुमान गरिएको समयमा रेल सञ्चालनमा आउन नसकेको रेलवेका अधिकारीहरु बताउँछन् ।

ब्रोडगेज रेलमार्ग तयार हुने अवस्थामा रहे पनि यसमा गुड्ने इन्जिन र बोगी (डब्बा) बारे अन्योल थियो । तर, रेल विभागका निर्देशक बलराम मिश्रले जनकपुर–जयनगर रेलमार्गमा गुडाउन आफ्नै रेल खरिद गर्ने तयारी गरिरहेको बताएका छन् ।

सरकारले तत्काल एक अर्ब खर्चेर भारतबाट दुईवटा रेल खरिद गर्ने तयारी गरिरहेको मिश्रले जानकारी दिएका छन् । आफ्नै रेल खरिद गरे पनि जनशक्ति भारतबाट ल्यानुपर्ने बाध्यता रहेको उनको भनाइ छ ।

‘पहिलो चरणमा भारतबाट दुईवटा रेल खरिद गर्ने कुर भइरहेको छ’, नेपाल समयसँग कुरा गर्दै मिश्रले भने, ‘रेल आफ्नै भए पनि जनशक्ति भारतबाट  ल्याउनुपर्ने हुन्छ ।’ रेल गुडाउन नेपालमा दक्ष प्राविधिक नरहेकाले एक वर्षका लागि भारतबाट प्राविधिक ल्याउने तयारी रहेको मिश्रले बताए । रेलगाडी खरिद गर्न १० जनवरीसम्म भारतसँग सम्झौता भइसक्ने उनको भनाइ थियो ।

‘एक वर्षका लागि हामी लिजमा भारतबाट प्राविधिक ल्याउँदैछौं,’ उनले भने, ‘यस अवधिमा उनीहरुले प्रशिक्षण दिइसकेपछि आफ्नै जनशक्ति तयार हुनेछ ।’ मिश्रका अनुसार रेल गुडाउन चालक, स्टेसन मास्टरलगायतका प्राविधिक जनशक्ति भारतबाट आउनेछन् । भारतबाट ल्याइने आवश्यक जनशक्तिबारे ‘लिस्टिङ’ गर्ने काम भइरहेको उनले जानकारी दिए ।

यस वर्ष जनकपुर–जयनगर रेलमार्गमा रेलगाडी खरिद गर्न ५० करोड बजेट विनियोजन गरिएको छ । अर्थ मन्त्रालयले थप ५० करोड दिने सहमति दिइसकेको छ ।

भारतबाट खरिद गर्न लागिएको रेलगाडी आधुनिक हुने बताइएको छ । इन्जिनसहित ६ वटा बोगीमा एकपटकमा १२÷१३ सय यात्रु यात्रा गर्ने सक्ने गरी रेलगाडी खरिद गर्न लागिएको निर्देशक मिश्र बताउँछन् । प्रतिबोगी ७५ सिट क्षमता रहेको रेलगाडी भारतबाट ल्याउन लागिएको उनले बताए ।

यसअघि रहेको न्यारो गेजलाई हटाएर जयनगर–जनकपुर–कुर्थासम्म ब्रोडगेज रेलमार्ग निर्माण गरिएको छ । भारतीय निर्माण कम्पनी इस्कोनले ट्र्याक, प्लेटफर्मलगायतका काम गरेको छ । निर्माण कार्य सम्पन्न हुन अझै बाँकी रहेकाले भारतीय निर्माण कम्पनीले अझै नेपाललाई हस्तान्तरण गरेको छैन ।

सन् २०१४ बाट ब्रोडगेज रेलमार्ग निर्माण कार्य सुरु भएको थियो । निर्माण काम सुरु भएपछि जनकपुर–जयनगर रेल सेवा विगत पाँच वर्षदेखि बन्द  छ । पहिलो चरणमा जयनगर–जनकपुर र दोस्रो चरणमा कुर्थादेखि महोत्तरीको बिजलपुरा हुँदै बर्दिवाससम्म रेल चलाउने योजना रहेको छ ।

ब्रोडगेज विस्तारका लागि सिभिलतर्फका सबै काम पूरा भएको छ । पुल, कल्भर्ट, स्टेसनजस्ता  सिभिलतर्फका सम्पूर्ण निर्माण कार्य पूरा भइसकेको छ ।

 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।