बिहीबार, जेठ २१, २०८३

सेना र प्रहरीका अस्पताल सर्वसाधारणका लागि खुला गर्न पहल

 |  सोमबार, पुस ८, २०८१

नेपाल समय

नेपाल समय

सोमबार, पुस ८, २०८१

काठमाडौं- नेपाली सेना, सशस्त्र प्रहरी बल तथा नेपाल प्रहरीद्वारा सञ्चालित अस्पतालमा सर्वसाधारणलाई समेत सेवा दिने उद्देश्यले आवश्यक तयारी गर्न कार्यदल गठन गरिएको छ।

National life

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले अतिरिक्त सचिव डा टङ्क बराकोटीको नेतृत्वमा सेना तथा प्रहरीका अस्पतालमा सर्वसाधारणलाई समेत सेवा दिने गरी व्यवस्था गर्न कार्यदल बनाएका हुन्। कार्यदललाई सर्वसाधारणलाई समेत सेवा दिनका लागि आवश्यक कार्यविधि तयार गर्न र कार्यान्वयनको सम्भावनाबारे जानकारीसहितको प्रतिवेदन दिन भनिएको छ।

गत जेठ ४ गतेको मन्त्रिपरिषद् बैठकले नेपाल प्रहरी र नेपाली सेना मातहतका संस्थाबाट सर्वसाधारणका लागि स्वास्थ्य सेवा खुला गर्ने र स्वास्थ्य मन्त्रालयबाट सम्बन्धित मन्त्रालयसँगको सहकार्यमा स्वास्थ्य सेवा प्रवाह गर्ने सहकार्यको ढाँचा एवं कार्यविधि बनाउने निर्णय गरेको थियो ।

मन्त्री पौडेलले गत साता कार्यदललाई सशस्त्र प्रहरी बलद्वारा सञ्चालित अस्पतालका हकमा समेत अध्ययन गर्न निर्देशन दिएका थिए। कार्यदलले विज्ञ तथा सरोकारवालासँग छलफल गरेर कार्यविधि तयार पार्ने मन्त्री पौडेलको सचिवालयले जनाएको छ ।

कार्यदलमा गृह तथा रक्षा मन्त्रालयका प्रतिनिधिका साथै सेना, प्रहरी र सशस्त्रका अस्पतालका प्रतिनिधिसँगै मन्त्रालयका अधिकारीहरुसमेत रहेका छन् । सर्वसाधारणलाई समेत सुरक्षा निकायद्वारा सञ्चालित अस्पतालको सेवा उपलब्ध गराउन मन्त्री पौडेलले विगतको निर्णय कार्यान्वयन गराउन प्रक्रिया अघि बढाउनुभएको मन्त्रालयका प्रवक्ता प्रकाश बुढाथोकीले जानकारी दिए।

Shivam cement

प्रकाशित: Dec 23, 2024| 18:11 सोमबार, पुस ८, २०८१
प्रतिक्रिया दिनुहोस्