सोमबार, पुस ८, २०८१
  • गृहपृष्ठ
  • समाचार
  • इलाका प्रशासन रामपुरबाट राहदानी तथा राष्ट्रिय परिचयपत्र सेवा सुरु

Siddartha premir insuranceSiddartha premir insurance

इलाका प्रशासन रामपुरबाट राहदानी तथा राष्ट्रिय परिचयपत्र सेवा सुरु

 |  सोमबार, पुस ८, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

सोमबार, पुस ८, २०८१

ntc landingntc landing

पाल्पा- इलाका प्रशासन कार्यालय रामपुरमा तोकेअनुसारको दरबन्दी व्यवस्थापन नहुँदा सेवा प्रवाहमा समस्या थपिएको छ।

himalayan bank box

कार्यालयबाट राहदानी तथा राष्ट्रिय परिचयपत्र सेवा सुरुआत भए पनि जनशक्ति व्यवस्थापन नहुँदा सेवा दिन कार्यालयलाई समस्या परेको जनाइएको छ। कार्यालयमा यही पुस ३ गतेदेखि राहदानी तथा राष्ट्रिय परिचयपत्र सेवा थप गरिएको थियो। तर कर्मचारी अभावमा काम गर्न समस्या भएको कार्यालय प्रमुख गणेशबहादुर कार्कीले बताए।

उनले भने, 'कर्मचारीको अभाव भए पनि हामीले निकै कष्टका साथ सेवा दिएका छौँ, हालसालै राहदानी तथा परिचयपत्र सेवा थपिएको छ तर हामीसँग जनशक्ति छैन, दरबन्दी अनुसारको कर्मचारी व्यवस्थापन नहुँदा कार्यालयको कामकाजमा समस्या छ।'

राहदानी सेवाका लागि तीनवटा कम्प्युटर आवश्यक पर्छ तर कार्यालयमा हाल एउटा मात्रै कम्प्युटर छ। कार्यालयमा एक कार्यालय प्रमुख, एक नायब सुब्बा, दुई खरिदार, एक सहायक लेखापाल, एक कम्प्युटर अपरेटरको स्थायी दरबन्दी छ। तर हाल एक कार्यालय प्रमुख, एक सहायक लेखापाल, एक कम्प्युटर अपरेटर स्थायी दरबन्दीमा र दुईजना कार्यालय सहयोगी, एक सरसफाइ कर्मचारी कार्यरत छन्। 

रामपुर नगरपालिकाले प्रशासन कार्यालयको सेवालाई सहज बनाउन एक जना कर्मचारी काजमा खटाएको नगर प्रमुख रमणबहादुर थापाले बताए। हाल कार्यालयमा राष्ट्रिय परिचयपत्र पञ्जीकरण विभागबाट यही पुस ३ गतेदेखि एकजना कम्प्युटर अपरेटरको व्यवस्था गरिएको छ। 

vianet

कार्यालयमा दैनिक औसत एक सयजना सेवाग्राही आउने गरेका छन्। अहिले दैनिक नेपाली नागरिकता ४० देखि ४५, राष्ट्रिय परिचयपत्र ३५ देखि ४०, सेवा शुभारम्भ भएको दिनदेखि हालसम्म दशवटा राहदानी सेवा दिइएको कार्यालयले जनाएको छ।

रामपुर-४ भीमसेनटोल बस्ने विष्णुमाया केसीले गाउँघरमा नै सेवा पाउँदा स्थानीयलाई धेरै राहत पुगेको बताए। कार्यालयमा राहदानी तथा राष्ट्रिय परिचय सेवा थालनी भएपछि पहिलो सेवाग्राहीका रुपमा राहदानी सेवा लिएकी केसीले खुसी व्यक्त गर्दै यहीँबाट सेवा विस्तार गर्न पहल गर्ने सबैलाई धन्यवाद दिएका छन्। 'सानो बच्चाका कारणले राहदानी बनाउन सदरमुकाम तानसेन जान सकिरहेकी थिइन्,  अहिले भने गाउँमा सेवा सुरु गरेपछि हामीलाई सजिलो भयो', उनले भने।

यही पुस ३ गते कार्यालयको नवनिर्मित भवन उद्घाटन, राहदानी र राष्ट्रिय परिचयपत्र सेवा विस्तार कार्यक्रममा सरिक हुँदै गृहमन्त्री रमेश लेखकले प्रशासन कार्यालयमा कर्मचारी तथा कुनै उपकरण, सामग्रीको अभावमा सेवा अवरुद्ध हुन नदिने प्रतिबद्धता जनाएका थिए। नागरिकलाई सरल किसिमले सेवा दिनु सरकारको पहिलो दायित्व भएकाले यस कार्यालयमा जनशक्ति, सामग्री अभावले सेवा रोकिने वातावरण नहुन नदिने गृहमन्त्री लेखकले विश्वास दिलाए।

रामपुर नगरपालिका-५ स्थित बेझाड बजारमा अवस्थित प्रशासन कार्यालयको १४ कोठासहितको साढे दुई तलाको नयाँ भवन निर्माण गरी सञ्चालनमा छ। चार करोड ५६ लाख ७७ हजार पाँचसय ७१ रूपैयाँ बराबरको लागतमा गत असारमा भवन निर्माण सम्पन्न भएको हो। आधुनिक प्रविधिबाट निर्माण भएको अपाङ्गमैत्री कार्यालय भवनसँगै सुरक्षा कर्मचारी गृह (गार्ड हाउस), चमेनागृह तथा पर्खाल निर्माण गरिएको छ।

सेवा विस्तारसँगै राहदानी र राष्ट्रियपत्रका लागि सदरमुकाम तानसेन पुग्नुपर्ने बाध्यता सधाका लागि हटेको छ। कार्यालयको आफ्नै भवन नहुँदा सेवा प्रवाहमा समस्या हुँदै आएको थियो। विसं २०७३ मा तत्कालीन गृहमन्त्री शक्तिबहादुर बस्नेतले कार्यालय स्थापनाको शुभारम्भ गरी सेवा प्रारम्भ भएको हो। रासस

प्रकाशित: Dec 23, 2024| 18:01 सोमबार, पुस ८, २०८१
प्रतिक्रिया दिनुहोस्