काठमाडौ- नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ।
आइतबार मध्य रातिदेखि लागु हुने गरी मूल्य बढेको हो। पेट्रोलको मूल्य प्रतिलिटर दुई रुपैयाँ बढेको छ।
निगमले डिजेल र मटीतेलको मूल्य भने घटाएको छ। दुवैको मूल्य प्रतिलिटर दुई रुपैयाँले घटाइएको छ।
योसँगै अब काठमाडौं, पोखरा र दीपायल डिपो अन्तर्गतका पेट्रोल पम्पमा पेट्रोलको मूल्य प्रतिलिटर १६२ रुपैयाँ भएको छ। यी क्षेत्रमा डिजेल र मटीतेलको मूल्य १५१ रुपैयाँ कायम गरिएको छ।
त्यस्तै, सुर्खेत र दाङ डिपो अन्तर्गतको क्षेत्रमा पेट्रोल १६१ रुपैयाँ र डिजेल तथा मटीतेल १५० रुपैयाँ कायम भएको छ। बाँकी क्षेत्रमा पेट्रोल १५९.५० रुपैयाँ र डिजेल मटीतेल १४८.५० रुपैयाँ पर्ने नेपाल आयल निगमले जनाएको छ।
खाना पकाउने एलपी ग्यास र हवाई इन्धनको मूल्य भने घटबढ भएको छैन।