काठमाडौं- सूचना तथा सञ्चारमन्त्री गोकुल बास्कोटाले सरकारको बचाउ गर्दै अभियोग लाग्दैमा कोही दोषी नहुने बताएका छन्। बिहीबार सिंहदरबारमा नियमित पत्रकार सम्मेलन गर्दै मन्त्री बाँस्कोटाले वाइड बडी खरिद प्रकरणमा दोषी भनिएकाहरु अहिले नै दोषी प्रमाणित भइनसकेको बताएका हुन्।
उनले भने, 'अभियोग लाग्दैमा कोही दोषी हुँदैन। अभियोग पुरा गर्न विभिन्न अवस्था पार गर्नुपर्छ। त्यो अवस्था आएको छैन।'
टीकापुर घटनाका मुख्य अभियुक्त भनिएका र साढे ३ वर्षदेखि पुर्पक्षका लागि जेलमै रहेका सांसद चौधरीलाई आज शपथ ग्रहण गराइएको प्रसंगमा बास्कोटाले जनताले जिताएका कारण उनलाई शपथ खुवाइएको बताए।
उनले भने, 'शपथ खुवाउने कुरा राजनीतिक विषय हो। जनताले मत दिएर जिताएकाले शपथ खुवाइएको हो। न्यायिक विषयमा अदालतले जे गर्छ, त्यही हुन्छ। त्यो सरकारको कार्यक्षेत्रमा परेन। अदालतको फैसला नै सांसद चौधरीले स्वीकार गर्नुपर्ने बताएका हुन्।
त्यसैगरी सरकारले आगामी वर्ष २०७६ सालमा थप १५ वटा जातीय तथा सांस्कृतिक चाडलाई राष्ट्रिय पर्वका रुपमा लिँदै सार्वजनिक विदा दिने प्रस्ताव गरेको छ। विभिन्न जातीय तथा धार्मिक संघसंस्थाहरुको माग बमोजिम संघीय सरकारले २०७६ सालका लागि थप गरिने सार्वजनिक विदाहरुको प्रस्तावित विवरण तयार पारेको मन्त्री बास्कोटाले बताए।
गृहमन्त्री रामबहादुर थापा बादल, संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारी र शहरी विकास मन्त्री मोहम्मद इस्तियाक राई रहेको विदा पुनरावलोकन समितिले विभिन्न ८ पर्वका लागि ११ दिन सार्वजनिक विदाको प्रस्ताव गरेको हो।
२०७५ सालमा घोषणा भएका सार्वजनिक विदाहरु यथावत राख्दै सरकारले थप पर्वमा विदा दिन लागेको हो। यस वर्ष कतिपय जातीय पर्वहरुमा सम्बन्धित जातिको घनत्व रहेका प्रदेशमा मात्र सम्बन्धित प्रदेश सरकारले विदा घोषणा गरेका थिए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४