काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल-चीन सम्बन्ध र सहकार्यका बारेमा भारतीय मिडियाले गरेको टिप्पणी राम्रो नभएको प्रतिक्रिया दिएका छन्।
चार दिने चीन भ्रमण पूरा गरी बिहीबार स्वदेश फर्केका प्रधानमन्त्री ओलीले विमानस्थलमा यस्तो बताएका हुन्। भारतीय मिडियाले बीआरआई सम्झौताबारे गरेको टिप्पणीबारे पत्रकारहरूले उनलाई प्रश्न सोधेका थिए। ‘दक्षिणको मिडियाले मित्रहरूलाई भड्काउने, आक्षेप लाउने खालको कुरा कुनै मिडियाले गरेको छ भने त्यो राम्रो तरिका होइन। तर नेताहरूले त्यस्तो गरेको मैले थाहा पाएको छैन,' उनले भने।
प्रधानमन्त्री ओलीले नेपाल र चीनबीचको प्रगाढ सम्बन्ध कसैको विरुद्ध नभएको बताए। चिनियाँ राष्ट्रपति सी जिनपिङसँगको भेटमा के कुराकानी भयो भनेर सोधिएको प्रश्नमा प्रधानमन्त्री ओलीले भने, 'नेपाल–चीन मित्रताको कुरा भयो। मित्रतालाई प्रगाढ बनाउने कुरा भयो। हाम्रो मित्रता कसैको विरुद्धमा होइन, हाम्रो मित्रता हाम्रो पक्षका लागि मात्र हो भन्ने कुरा भयो। मित्रतालाई अघि बढाउने र त्यसले ज्यादा लाभ नेपाललाई पुर्याउने भन्ने कुरा पनि भयो।'
प्रधानमन्त्री ओलीले बीआरआई फ्रेमवर्कमा गरिएको सम्झौता ऋण नभएको बताए। आफू चीन जानु अगाडि नै ऋण नलिने कुरा स्पष्ट गरेको उनले बताए। ओलीले नेपालले प्राप्त गरेको उपलब्धि ऋण नभएको दाबी गरे।
‘मैले आमसभादेखि भनेको थिएँ, हामी ऋण लिन जाँदै थिएनौं। हामीले बीआरआई अन्तर्गत पछि छुट्टै छलफल गर्छौं। अहिले हामीले जे प्राप्त गरेका छौं, त्यो ऋण होइन। ऋण सम्बन्धी कुरा पनि चलेको छैन । तर ऋणको सारंगी किन बजिरहेको छ? उनले भने।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा प्रधानमन्त्री ओलीलाई उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंह, गृहमन्त्री रमेश लेखक, नेपाल सरकारका उच्च पदस्थ अधिकृत, सुरक्षा निकायका प्रमुखहरूले स्वागत गरे। प्रधानमन्त्री ओलीको स्वागतमा नेपाली सेनाको एक टुकडीले सम्मान गारत अर्पण गरेको थियो ।
चीनका प्रधानमन्त्री ली छ्याङको मैत्रीपूर्ण निमन्त्रणामा प्रधानमन्त्री ओली यही मङ्सिर १७ गते चीन प्रस्थान गरेका थिए। बेइजिङमा रहँदा प्रधानमन्त्री ओलीले चीनका राष्ट्रपति सी चिनफिङसँग भेटवार्ता गरेका थिए। साथै प्रधानमन्त्री ओली र चिनियाँ समकक्षी लीसँगको भेटमा द्विपक्षीय हितका विविध विषयमा विचार विमर्श भएको थियो । उनको चीन भ्रमणका क्रममा नेपाल–चीनबीच विभिन्न सहमतिमा हस्ताक्षर समेत भएको छ ।
प्रधानमन्त्री ओली नेतृत्वको नेपाली प्रतिनिधिमण्डलमा उहाँकी धर्मपत्नी राधिका शाक्य, परराष्ट्रमन्त्री डा आरजु राणा देउवा, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, प्रधानमन्त्रीका आर्थिक तथा विकास सल्लाहकार डा युवराज खतिवडा, सांसदहरू, विशिष्ट श्रेणीका सरकारी अधिकारी, निजी क्षेत्रका प्रतिनिधि र सञ्चारकर्मीलगायत थिए।