काठमाडौं-अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी)ले पछिल्लो २ बर्ष देखि रोकिएको नेपाली राष्ट्रिय खेलाडीहरुको तलब दिने भएको छ । नेपाल क्रिकेट संघ निलम्बनमा परेपछि सबै जिम्मेवारी लिएको आईसीसीले रोकिएको तलब सुचारु गर्न लागेको हो ।
नेपाल क्रिकेट संघले सन् २०१५ मा खेलाडीहरुलाई ‘ए’ ‘बि’ र ‘सी’ श्रेणीमा वर्गीकरण गरी पहिलो पटक राष्ट्रिय खेलाडीहरुलाई तलब दिने घोषणा गरेको थियो । नेपाल क्रिकेट संघ निलम्बनमा परेपछि खेलाडीहरुलाई आईसीसीले २०१७ जुलाईमा पछिल्लो पटक तलब दिएको थियो ।
त्यसबेला राष्ट्रिय टिमका २३ जना खेलाडीले तलब पाएका थिए । त्यस बेला ‘ए’ श्रेणीका खेलाडीहरुको तलब रु. ३५ हजार, ‘बि’ श्रेणीको खेलाडीहरुको तलब रु. २५ हजार रहेको थियो भने ‘सी’ श्रेणीको खेलाडीहरुको तलब रु. १० हजार थियो । आईसीसीले सोहि वर्गीकरण अनुसार त्यतिबेला १ बर्षको तलब दिएको थियो ।
यो पटक खेलाडीहरुको अनुरोधमा आईसीसीले २ बर्षको तलब दिनेछ । राष्ट्रिय टिमका प्रशिक्षक जगत टमाटा, कप्तान पारस खड्का र उपकप्तानको परामर्शमा खेलाडीहरुलाई पुनः ३ वटा श्रेणीमा वर्गीकरण गरिएको र ३ वटै विधामा ७-७ गरि २१ खेलाडीहरुलाई समाबेश गरिएको छ । आईसीसीले राष्ट्रिय खेलकुद परिषद मार्फत तलब वितरण प्रक्रिया अघि बढाईसकेको छ ।
कसले कति पाउनेछन् तलब ?
ए श्रेणी (मासिक रु. ३५ हजार)- पारस खड्का, ज्ञानेन्द्र मल्ल, शरद भेसावकर, वसन्त रेग्मी, सोमपाल कामि, सन्दिप लामिछाने, दिपेन्द्र सिंह ऐरि (पाउने कुल रकम- ८ लाख ४० हजार)
बि श्रेणी (मासिक रु. २५ हजार)- आरिफ शेख, करन केसी, ललित भण्डारी, अनिल शाह, रोहित पौडेल, ललित नारायण राजबंशी, शक्ति गौचन (पाउने कुल रकम- ६ लाख)
सी श्रेणी (मासिक रु. १५ हजार) - सुबास खकुरेल, सागर पुन, दिलिप नाथ, सुनिल धमला, सुशन भारी, किशोर महतो र बिनोद भण्डारी (पाउने कुल रकम -३ लाख ६० हजार)
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४