एजेन्सी- विश्व फुटबलमा पछिल्लो दशक रोनाल्डो र मेस्सीबीच सर्वाधिक चर्चा र प्रतिस्पर्धा निकै भएको पाईन्छ । उनीहरुबीचको प्रतिस्पर्धा अवार्डमा मात्रै नभएर मैदान, दर्शक र समर्थकबीच समेत भएको छ ।
गत सिजनसम्म यी दुई खेलाडी एकै लिगमा थिए । तर, अहिले उनीहरू फरक-फरक लिगमा छन् । विगतमा जस्तै यी दुई सुपरस्टारको प्रतिस्पर्धा यस वर्ष पनि देखियो । हाल लिग मध्यभागतिर पुग्दै गर्दा उपाधि होड अघि नआए पनि रोनाल्डो र मेस्सीको व्यक्तिगत प्रतिस्पर्धा भने वर्ष २०१८ को अन्तिममा एकपटक चर्कियो ।
वर्ष २०१८ मा बार्सिलोनाका मेस्सी नै सर्वाधिक गोलकर्ता बने । उनले क्लब र अर्जेन्टिनाका लागि गरी कूल ५१ गोल गरे । उनले क्लबका लागि ४७ गोल गर्दा देशका लागि ४ गोल गरे ।
यता, रोनाल्डोले भने यस वर्ष ५० गोलको आँकडा छुन सकेनन् । उनले यस वर्ष क्लब र देशका लागि गरेर कूल ४९ गोल गरे । उनले क्लब रियल मड्रिडका लागि २८ गोल गरे भने युभेन्टसका लागि १५ गोल गरे । देशका लागि ६ गोल गरे ।
यसरी हेर्दा रोनाल्डो मेस्सीभन्दा मात्रै २ गोलले पछि परे । गत वर्ष मेस्सीले कूल ५४ गोल गर्दा रोनाल्डोले भने ५३ गोल गरेका थिए । यस वर्ष रोनाल्डो र मेस्सी दुवैले गरेको सम्पूर्ण गोल संख्या जोड्दा १०० गोल हुन आउँछ । यो नै मेस्सी र रोनाल्डोको यस बर्षको शतकिय पारी हो ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४