काठमाडौं- दुई खेल अगावै सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको उपाधि जितेसँगै मनाङ मस्र्याङ्दी क्लबले एएफसी कप फुटबल खेल्ने पक्का भएको छ । लिगको विजेताको हैसियतले मनाङले नेपालको प्रतिनिधित्व गर्दै एएफसी कपमा भिड्ने भएको हो ।
एसियन फुटबल फेडेरेसनले गत महिना नै समूह चरणको ‘ड्र’ सार्वजनिक गरि सकको छ । उक्त ‘ड्र’ मा मनाङ एएफसी कप फुटबलको समूह ‘ई’ मा रहेको छ । यस समूहमा भारत, बंगलादेश र प्ले अफबाट आएको एक टोलीले प्रतिस्पर्धा गर्नेछन् ।
भारतबाट भने मिनेर्भा पन्जाबले खेल्ने छन् । यस्तै बंगलादेशबाट ढाका अब्भानीले खेल्नेछ । प्ले अफबाट आउने एक टोलीको भने तय भएको छैन । समूह चरणको खेलहरु आगामी अप्रिलमा सुरु हुनेछ । एएफसी कपमा हरेक राष्ट्रको शीर्ष डिभिजनको लिग च्याम्पियनले प्रतिस्पर्धा गर्नेछन् ।
मनाङले बिहिबार भएको खेलमा संकटा क्लबलाई ३-१ ले हराउदै उपाधि जितेको थियो । दुई खेल अगाबै उपाधि जितेको मनाङले लिगमा कीर्तिमानी आठौं पटक कब्जा समेत जमाएको हो । यस अघि नेपालबाट थ्री स्टार क्लबले एएफसी कपमा प्रतिस्पर्धा गरेको थियो ।

प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४