काठमाडौं- मनाङ मस्र्याङ्दी क्लबले दुई खेल अगावै सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको उपाधि जितेको छ । यस जितसँगै मनाङले लिगको उपाधि ८ औं पटक जित्दै कीर्तिमानी रचेको छ । एन्फ कम्प्लेक्स बिहिबार भएको खेलमा संकटा क्लबलाई ३-१ गोल अन्तरले पराजित गर्दै मनाङले लिगका दुई खेल खगावै लिगको उपाधि जितेको हो ।
खेलमा मनाङले आत्मघाती गोल मार्फत सुरुवाती अग्रता लिएको थियो । मनाङले १७ औ मिनेटमा आत्मघाति गोलबाट अग्रता लिएको थियो । विशाल राईको कर्नर बललाई संकटाका गोलकिपर राजा बाबु थापाले पन्च गरेर बाहिर फाल्ने क्रम रोशन पहाडीले आत्मघाति गोल गर्न पुगे ।
उक्त गोल पहिलो हाफको इन्जुरी समयमा भएको थियो । त्यसपछि दोस्रो हाफमा मनाङका लागि पुजन उपरकोटी र एडीलाजा सोमिडेले एक एक गोल गरे । संकटाका सेड्रिक अबाले एक गोल फर्काए ।
खेलको ८१ औ मिनेटमा विशाल राईको कर्नरमा पुजन उपरकोटीले हेडमार्फत गोल गर्दै मनाङलाई जितको नजिक पुर्याएका थिए । ८० औ मिनेटमा सुजल श्रेष्ठको स्थानमा मैदान छिरेका उनले पहिलो टचमै गोल गर्न सफल भए ।
८६ औ मिनेटमा बिशाल राईले उपलब्ध गराएको पासमा एडिलआजाले फ्रि हेडमार्फत गोल गर्दै मनाङलाई ३-० को स्थितीमा पुर्याए । खेल सकिन एक मिनेट बाँकी छदाँ एक्लो प्रयासमा सेड्रिक आबाले गोल गर्दै गोल अन्तरलाई घटाउने प्रयास गरे ।
जितसँगै मनाङले ११ खेलबाट ३३ अंक जोडेको छ । अपराजित मनाङले अब दुई खेल खेल्न बाँकी छ । दोस्रो स्थानको संकटाको २५ अंक छ । मनाङले पहिलोपटक २०४३ सालमा ‘ए’डिभिजन लिगको उपाधि जितेको थियो । मनाङपछि आरसिटीले ६ पटक लिग जितेको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४