एजेन्सी- इटालियन लिग सिरी ए अन्तर्गत बुधबार बेलुका युभेन्टसले एटलान्टाविरुद्ध भिड्दै छ । खेल नेपाली समय अनुसार बेलुका ७:४५ बजे एटलान्टाको घरेलु मैदानमा हुदैछ ।
युभेन्टस उसैको घरेलु मैदानमा पराजित गर्दै आफ्नो अपराजित यात्रा कायमै राख्न चाहन्छ । युभेन्ट्सले लिगको १७ खेलमा १६ जित र १ बराबरीसँगै अपराजित यात्रा कायम राखेको छ । तर, उक्त खेलमा स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोलाई भने विश्राम दिने भएको छ ।
प्रशिक्षक मासिमिलानो एलेग्रीले रोनाल्डोलाई एटलान्टाविरुद्ध पहिलो रोजाइमा नराखिने प्रष्ट पारेका छन् । रोनाल्डोले लिगका १७ खेलमा ११ गोल गरेका छन् । रोनाल्डो लिगको खेलमा युभेन्ट्सको पहिलो रोजाइमा पहिलो पटक नपर्ने भएका छन् ।
युभेन्ट्सले दोस्रो स्थानको नेपोलीसँग ८ अंकको फराकिलो अग्रता कायम गरेको छ । युभेले शनिबार साम्पडोरियासँग खेलेपछि इटालियन लिगमा तीन साता जाडो विश्राम हुनेछ ।
युभेन्ट्सले इटालियन सुपर कपको खेलमा मिलानको सामना गर्दै विश्रामपछि खेलमा फर्कनेछ । जनवरी १६ मा हुने खेल साउदी अरेबियामा हुनेछ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४