मंगलबार, पुस १, २०८२

उज्यालो पर्खिरहेको निसेलढोर

 |  आइतबार, भदौ २, २०८१

नेपाल समय

नेपाल समय

आइतबार, भदौ २, २०८१

बागलुङ- पूर्वी रुकुमको सिमानासँग जोडिएको निसेलढोरमा अहिलेसम्म विद्युतको पहुँच छैन। बागलुङको निसीखोला गाउँपालिका-५ निसेलढोरमा विद्युत् नपुग्दा स्थानीय अन्धकारमा बस्न बाध्य छन्। 

National life

विद्युतको सुविधा नहुँदा स्थानीयले दियालो र टुकी बालेर रात बिताउन बाध्य छन्। एक दशक अगाडिसम्म निसेलढोरमा निसीवासी बर्खाको समयमा पशुचौपाया पाल्ने, आलु र स्याउ फलाउने गर्थे। बर्खाको चार महिनामात्र निसेलढोर बस्ने स्थानीय हिउँदको समयमा निसी गाउँमा बस्ने गर्थे। निसेलढोर लेक क्षेत्र पर्छ भने निसी गाउँ औल (बेँसी) क्षेत्र हो।

पछिल्लो समय करिब ७० परिवार बाह्रै महिना स्थायीरुपमा निसेलढोरमा बस्ने गर्छन्। बर्खाको समयमा यहाँ दुई सयभन्दा बढी परिवार बस्छन्। असारदेखि असोजसम्म निसेलढोरमा बस्ने निसीवासी कात्तिकदेखि निसी गाउँमा झर्ने गर्छन्।

पछिल्लो समय स्थायीरुपमै निसेलढोरमै बस्नेको सङ्ख्या बढ्दै गएको हो। उनीहरुले उज्यालो खोजिरहेका छन्। ढोरपाटन उपत्यकादेखि करिब डेढ घण्टाको यात्रामा पुग्न सकिने निसेलढोर पर्यटकीय हिसाबले आकर्षक भए पनि विद्युतलगायतका सुविधा नपुग्दा ओझेलमा छ।

पहिले हिउँदमा हिमपात हुने र बढी चिसोका कारण यहाँ कमै मात्रै स्थानीय बस्ने गरे पनि पछिल्लो समय सडकले जोडिएपछि स्थायी रुपमा बस्नेको सङ्ख्या बढ्न थालेको निसीखोला गाउँपालिका-५ निसेलढोरकी सम्झना विकले बताइन्। अन्धकारमै रात बिताउँदै आएको भन्दै आधुनिक प्रविधिको विकास हुँदासमेत आफूहरु सूचना सञ्चारबाट टाढा रहनुपरेको सुनाइन्। यो ठाउँ कृषि र पशुपालनका लागि उपयुक्त ठाउँ भएको तर बिजुलीको उज्यालोभन्दा टाढा रहनु परेको उनको भनाइ छ।

Laxmi sunrise bank
kumari

विकले भनिन्, 'बिजुली छैन, टेलिभिजन हेर्न र रेडियो सुन्न पाइँदैन, साथमा मोबाइल भएर के गर्ने? चार्ज गर्न पाइँदैन, मोबाइल चार्ज गर्न, दुई/तीन घण्टा हिँडेर ढोरपाटन पुग्नुपर्ने अवस्था छ, बिजुली हुन्थ्यो भने साँझमा केटाकेटीले अबेरसम्म पढ्न पाउँथे, देश विदेशका खबर सुन्न पाइन्थ्यो।'

स्थानीय बलबहादुर घर्तीले दियालो र दाउरा काट्न ढोरपाटन सिकार आरक्षले अवरोध गर्ने हुँदा खाना पकाउन र साँझमा उज्यालो बाल्न अप्ठ्यारो भएको बताए। बजारमा मट्टीतेल पाइन छोडेको उनको भनाइ छ। 'घाँस दाउरा ल्याउन सिकार आरक्षले दिँदैन', घर्तीले भने, 'जसोतसो बसिरहेका छौँ।' 

निसीखोला-५ का वडाध्यक्ष हर्कमान घर्तीमगरले निसेलढोरमा विद्युत् पुर्‍याउनका लागि अघिल्लो वर्षदेखि काम सुरु गरेको बताए। ढोरपाटन-९ भुजीस्थित भुजी लघु जलविद्युत् आयोजनाबाट निसेलढोरलाई जोड्न लागेको उनले बताए। गत वर्ष विद्युत् केही स्थानमा खम्बा गाड्ने र निसेलढोरवासीको ९० प्रतिशत घरमा आइरिङको काम सकिएको अध्यक्ष घर्तीमगर बताउँछन्। रासस

प्रकाशित: Aug 18, 2024| 20:31 आइतबार, भदौ २, २०८१
प्रतिक्रिया दिनुहोस्