बुधबार, पुस २, २०८२

दुईवटा हिमताल फुट्दा थामेमा बाढी, थप दुइटा उच्च जोखिममा

 |  शनिबार, भदौ १, २०८१

नेपाल समय

नेपाल समय

शनिबार, भदौ १, २०८१

सोलुखुम्बुको थामे गाउँमाथि रहेका दुईवटा पोखरी फुटेर थामे खोला र दुधकोशी नदीमा बाढी आएको स्थलगत अध्ययन टोलीले निष्कर्ष निकालेको छ। 

National life

रक्षामन्त्री मानवीर राईसहितको अध्ययन टोलीले अझै दुईवटा पोखरी उच्च जोखिममा रहेको जानकारी दिएको छ। बाढी प्रभावित क्षेत्रको वस्तुस्थिति बुझ्न र प्रभावित व्यक्तिलाई उद्धार तथा राहत प्रदान गर्न शनिबार रक्षामन्त्री राईको नेतृत्वमा सङ्घीय र प्रदेशसभा सदस्य, गाउँपालिका अध्यक्ष र प्रमुख जिल्ला अधिकारीसहितको टोली पुगेको थियो।

टोलीमा रहेकी प्रमुख जिल्ला अधिकारी देवी पाण्डेका अनुसार स–साना पाँचवटा तालमध्ये दुईवटा फुटेर बाढी आएको थियो। अरु दुईवटा जोखिममा रहेको र एउटा भने सुरक्षित रहेको उनले बताइन्। दुधकोशी नदी तटीय क्षेत्रमा जोखिम कायम रहेकाले सचेत रहन प्रशासनले अनुरोध गरेको छ।

जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले शुक्रबार राति एक विज्ञप्ति जारी गर्दै निरन्तर वर्षा र तापक्रम वृद्धिले सो क्षेत्रमा हिमपहिरो गएको कारण वा अन्य कुनै कारणले थामे खोला जलाधारमा रहेका विभिन्न हिमतालहरू मध्य कुनै हिमताल विस्फोट भएको हुन सक्ने जनाएको थियो । 

थामे खोलामा एक्कासी बाढी आएको घट्नाको प्रारम्भिक अध्ययन गर्दा थामे खोला जलाधारको माथिल्लो तटीय क्षेत्रमा साना ठुला गरी ६ वटा हिमताल तथा हिमपोखरीहरू रहेको विज्ञप्तिमा उल्लेख थियो। यस्तै उक्त क्षेत्रको नजिक रहेको फोर्त्से केन्द्रमा विगत ७ दिनमा कुल ६५ मिमि वर्षा मापन भएको र साउन २५ गतेदेखि दैनिक औसत तापक्रममा क्रमिक वृद्धि भएको पाइएको विज्ञप्तिमा उल्लेख छ। तापक्रम बढ्दै जाँदा साउन ३१ गतेको अधिकतम तापक्रम १५.९ डिग्री सेल्सियस पुगेको विभागको भनाइ छ। 

Laxmi sunrise bank
kumari

‘अतः माथि उल्लेख भएबमोजिमका विभिन्न प्रारम्भिक जानकारीबाट निरन्तर वर्षा र तापक्रम वृद्धिले सो क्षेत्रमा हिमपहिरो गएको कारण वा अन्य कुनै कारणले थामे खोला जलाधारमा रहेका विभिन्न हिमतालहरू मध्य कुनै हिमताल विस्फोट भएको हुन सक्ने देखिन्छ’, विज्ञप्तिमा भनिएको छ । 

शुक्रबार करिब दुई बजेको समयमा जिल्ला सोलुखुम्बु खुम्बु पासाङल्हामु गाउँपालिका–५ थामे स्थित थामे खोलामा पानीको बहाव बढेको थियो । बाढीका कारण एउटा विद्यालय, एउटा किल्निक, ७ वटा घर र ५ वटा होटलमा पूर्णरुपमा क्षति भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । त्यस्तै ७ वटा घर जोखिममा रहेको बताइएको छ । 

पानीको बहाव घट्दै गएता पनि कटानको कारण माथिल्लो तटिय क्षेत्रमा जोखिम रहेको र तल्लो तटिय क्षेत्रमा कटानको कारण जिल्ला सोलुखुम्बु माप्य दुधकोशी गापा–६ बोदेबहर बलेखा बस्ने ५ घरका मानिसहरुलाई नेपाल प्रहरीले सुरक्षित स्थानतर्फ सारेको छ । 

त्यस्तै सोताङ गाउँपालिका–१ दिप्ली घाटस्थित पुरानो बेलि बृजको सामान निकालेर स्टोर गरी राखेको सामानहरु बगाएर लगेको पनि प्रहरीको भनाई छ । यस्तै माप्य दुधकोशी गाउँपालिका–१ अधेरीस्थित खुम्बु क्षेत्र जोड्ने दुधकोशी खोलाको पक्की पुलको एकतर्फि भासिएको छ । 

बाढीका कारण माथिल्लो भेगको खुम्बु पासाङल्हामु गाउँपालिका–३ जोर सल्लेमा खोलाको कटानले फाक्दिनदेखि नाम्चे जाने पैदल गोरेटो बाटो दुई ठाउँमा अन्दाजी  १००/१०० मिटर कटान गरी लगेको छ । बाढीको खबर प्राप्त हुना साथ नाम्चेबाट प्रहरी र नेपाली सेनाको टोली खटिएको थियो । साथै अन्य प्रहरी युनिटहरुबाट समेत प्रहरी परिचालन गरिएको थियो ।

प्रकाशित: Aug 17, 2024| 14:15 शनिबार, भदौ १, २०८१
प्रतिक्रिया दिनुहोस्