काठमाडौं- गृहमन्त्री रमेश लेखकले भक्तपुरको गठ्ठाघरमा बिहीबार भएको सवारी दुर्घटनाको गम्भीरतापूर्वक छानबिन गर्न प्रहरी महानिरीक्षक (आइजीपी)लाई निर्देशन दिएका छन्।
गृहमन्त्री लेखकले गम्भीरतापूर्वक दुर्घटना कारण खोज्न आइजीपी बसन्त कुँवरलाई निर्देशन दिएका हुन्। ‘गठ्ठाघरको दुर्घटनामा के भएको हो ? दुर्घटना हुनुमा कसैको गल्ती छ कि? यसमा हाम्रो पुलिस फोर्सको गल्ती छ कि? यसको गम्भीरतापूर्वक छानबिन गर्नुस्,’दुर्घटनाबारे दु:ख व्यक्त गर्दै उनले भने।
बिहीबार दिउँसो भक्तपुरको गठ्ठाघर चोकनजिकै ट्रकले ठक्कर दिँदा स्कुटर चालकको घटनास्थलमै मृत्यु भएको थियो। ना ६ ख २१७३ नम्बरको ट्रकले बा ३९ प ८९४४ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालकको घटनास्थलमै मृत्यु भएको थियो।
मृतकको सनाखत भइसकेको छैन। सुरुमा मृतक महिला बताइए पनि पछि पुरुष भएको प्रहरीले बताएको छ।
ट्रक चालक घटनास्थलबाट फरार भए पनि बिहीबार साँझ काठमाडौंको नयाँ बानेश्वर वृत्त तीनकुनेले पक्राउ गरी थिमि वृत्तको जिम्मा लगाएको छ।