काठमाडौं- नेपालमा निरंकुश राणातन्त्र र पञ्चायती राजतन्त्रविरुद्ध अविराम संघर्ष गरेका वीपी कोइरालालाई सम्झिएर आज ४२औं स्मृति दिवस मनाइँदै छ। नेपालमा प्रजातन्त्र स्थापनाका लागि आजीवन संघर्ष गरेका वीपीको निधन आजकै दिन ६ साउन २०३९ मा भएको थियो।
नेपालमा पहिलो जननिर्वाचित प्रधानमन्त्री वीपीको प्रजातन्त्रप्रति लगावकै कारण विश्व र नेपालमा समेत सबैका अनुकरणीय व्यक्तित्वका रुपमा लिने गरिएको छ। वीपीको जन्म २४ भदौ १९७१ मा भएको थियो। २०१५ को संसदीय निर्वाचनपछि २०१६ जेठमा वीपी नेपालको पहिलो निर्वाचित प्रधानमन्त्री बनेका थिए। वीपीले १८ महिना मात्र सरकार चलाउन पाए। राजा महेन्द्रले वीपीको दुई तिहाइ सरकारलाई सैनिक बुटमार्फत अपदस्थ गरेकै कारण नेपालमा प्रजातान्त्रिक व्यवस्थामा ग्रहण लागेको थियो।
२०१५ को निर्वाचनमा कांग्रेसले कुल १०९ मध्ये ७४ सिट प्राप्त गरेको थियो। त्यसपछि वीपी नेपालको २२औं प्रधानमन्त्री बनेका थिए। लामो समयसम्म कांग्रेसको नेतृत्व गरे पार्टीलाई प्रजातन्त्रको बाटोमा हिँडाउन वीपीको योगदान अविष्मरणीय रहेको छ।
वीपीको सुरुआती जीवन भारतमा चलिरहेको भारतको छोडो स्वतन्त्रता आन्दोलनबाट भएको थियो। आन्दोलनमा लागेकै कारण वीपी र उनका दाइ मातृकाप्रसाद कोइरालालाई १९८६ मा तीन महिनासम्म बेलायती सरकारले कैद गरेको थियो। यसपछि नै उनको राजनीतिक जीवनको सुरुआत भएको मानिन्छ। वीपीले १९८८ मा उच्च माध्यमिक शिक्षा बनारसमा पूरा गरेका थिए। त्यसपछि बनारस हिन्दु विश्वविद्यालयबाट राजनीति तथा अर्थशास्त्र विषयमा स्नातक तथा कलकत्ता विश्वविद्यालयबाट कानुनमा स्नातकोत्तर पूरा गरेका थिए। वीपीले अध्ययन पूरा गरेपछि दार्जिलिङमा बसेर धेरै समयसम्म कानुनको वकालत गरेको उनका जीवनीबाट थाहा लाग्छ। वीपी विद्यार्थी हुँदा पनि राजनीतिमा नजिक थिए। भारत छोडो आन्दोलनमा सहभागी भएकै कारण उनी जेलसमेत परेका थिए। जेलबाट छुटेपछि नेपालमा पनि प्रजातन्त्र ल्याउन सकिने अठोटसहित वीपीले २००३ मा नेपाली राष्ट्रिय कांग्रेस स्थापना गरेका थिए। नेपाली राष्ट्रिय कांग्रेस नै हालको नेपाली कांग्रेस बन्न पुगेको हो।
२००३ मा विराटनगर मजदुर आन्दोलनको नेतृत्व गरेको अभियोगमा वीपीलाई तत्कालीन राणा सरकारले एक वर्ष कैद गरेको थियो। वीपीले २००७ मा नेपालमा राणा शासनक अन्त्यका लागि सशस्त्र विद्रोहसमेत थालेका थिए। वीपीले मुक्ति सेना गठन गरेर निरंकुश राणाशाही शासन अन्त्य हुन सकेको हो। २००७ मै तत्कालीन राणा शासक मोहनशमशेर जबराको नेतृत्वमा बनेको नयाँ सरकारमा वीपी गृहमन्त्रीको जिम्मेवारीमा थिए।
०७ को क्रान्तिमा वीपीको महत्त्वपूर्ण योगदान रहेकै कारण यसलाई नेपालको प्रजातान्त्रिक आन्दोलन पनि भन्ने गरिएको छ। तात्कालिक समय देशमा रहेको जहानियाँ एकतन्त्रीय राणा शासनविरुद्ध सुरु भएको जनताको क्रान्तिले ७ फागुन २००७ मा नेपालमा राणा शासन अन्त्य गरी प्रजातन्त्र स्थापना भएको हो। यो क्रान्तिले वीपीलाई प्रजातन्त्रका नायक बनाएको थियो। क्रान्तिमा नेपालको पहिलो राजनीतिक दल नेपाल प्रजा परिषद् र नेपाली कांग्रेसलगायतका पार्टी भाग लिएका थिए। वीपीले २००३ मा भारतबाट समाजवादी नेपाली राष्ट्रिय कांग्रेस स्थापना गरेका थिए, जुन २००६ मा नेपाली कांग्रेस पार्टी बनेको हो।
राणा शासन अन्त्यपछिको २०१५ को आमनिर्वाचनमा कांग्रेसले दुई तिहाइ बहुमत प्राप्त गरेसँगै प्रथम जननिर्वाचित प्रधानमन्त्री बनेका वीपीले नेपालमा राष्ट्रियता, प्रजातन्त्र र समाजवाद स्थापनाका लागि राजनीतिक नेतृत्व प्रदान गरे। उनले प्रजातान्त्रिक व्यवस्थामार्फत जनताका दुःख र गरिबी हटाउन अगाडि बढाएको आर्थिक नीति अहिले पनि सान्दर्भिक रहेको छ।
वीपीले १८ महिने कार्यकालमा बिर्ता उन्मूलन र ‘जग्गा जोत्नेको हुनुपर्छ’ भन्ने भूमिसुधार कार्यक्रम अगाडि बढाएका थिए। त्यतिबेला वीपीको यो कदमलाई क्रान्तिकारी छलाङ मानिएको थियो। १ पुस २०१७ मा तत्कालीन शाही नेपाली सेनाको बलमा राजा महेन्द्रले जननिर्वाचित सरकार अपदस्त गरेपछि वीपीलगायत नेतालाई सिंहदरबारमा बन्दी बनाइएको थियो। एक महिनापछि सेनाको सुन्दरीजल आर्सनलका प्रमुखको सरकारी निवासलाई वरिपरि पर्खालले घेरेर नेता कोइराला, संसद्का प्रथम सभामुख कृष्णप्रसाद भट्टराई, नेता गणेशमान सिंह लगायत मन्त्रीलाई सुन्दरीजल बन्दीगृहमा बन्दी बनाइएको थियो। २०२५ मा स्वास्थ्य परीक्षणका लागि जेलमुक्त भएका वीपीले ८ वर्षसम्म भारतमा निर्वासित जीवन बिताएका थिए।
भारतमा निर्वासित भइरहेको समय राष्ट्रियता कमजोर भन्ठानेर प्रजातन्त्रका लागि संघर्ष गर्ने अठोटसहित पञ्चायती शासनका ८ वटा ज्यान मुद्दाको पर्वाह नगरी १६ पुस २०३३ मा वीपी राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई स्वदेश फर्किएका थिए। वीपीले त्यतिबेला लिएको मेलमिलापको नीतिलाई आज पनि स्मरण गर्ने गरिएको छ। वीपीलाई सान्दाजुका नामले समेत सम्बोधन गर्ने गरिएको छ।
नेपाली साहित्यमा मनोवैज्ञानिक यथार्थवादी धाराका प्रवर्तक वीपीका डेढ दर्जन कृति प्रकाशित छन्। उनका तीन घुम्ती, मोदी आइन, हिटलर र यहुदी, सुम्निमा, नरेन्द्रदाइ, एवं बाबु, आमा र छोरा’ गरी ६ उपन्यास प्रकाशित छन्। २ कथा संग्रह श्वेत भैरवी र ‘दोषी चश्मा’, हरिप्रसाद शर्माको सम्पादनमा ‘विश्वेश्वरप्रसाद कोइरालाका कथा र कविता’ प्रकाशित छन्।