आइतबार, भदौ २३, २०८१
  • गृहपृष्ठ
  • अर्थ
  • नवगठित सरकारको सोच र दृष्टिकोण कार्यान्वयन गर्न बजेट बाधक बन्दैन : अर्थमन्त्री पौडेल

nespernesper

नवगठित सरकारको सोच र दृष्टिकोण कार्यान्वयन गर्न बजेट बाधक बन्दैन : अर्थमन्त्री पौडेल

 |  सोमबार, असार ३१, २०८१

नेपाल समय

नेपाल समय

सोमबार, असार ३१, २०८१

काठमाडौं- नवनियुक्त उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नवगठित सरकारको सोच र दृष्टिकोण कार्यान्वयन गर्न अघिल्लो सरकारले ल्याएको बजेट बाधक नबन्ने बताएका छन्।

triton college

आज राष्ट्रपति कार्यालयमा शपथ ग्रहणपछि सिंहदरबारस्थित अर्थ मन्त्रालय पुगेर पदभार ग्रहण गर्दै मन्त्री पौडेलले नवगठित सरकारले तय गर्ने कार्यदिशालाई आगामी आर्थिक वर्षको बजेटले समस्या नपार्ने विश्वास व्यक्त गरे। उनले बजेट कार्यान्वयनमा कुनै समस्या देखिएमा त्यसलाई प्रक्रियागत रुपमा संशोधन गर्न सकिने धारणा राखे।

'सरकारको सोच र दृष्टिकोण कार्यान्वयन गर्न बजेट बाधक बन्दैन। यदि बाधा देखियो भने कसरी फुकाउने भनेर कानूनी र संवैधानिक व्यवस्था छन्। सोहीअनुसार संशोधन प्रक्रियामा जान्छौँ', अर्थमन्त्री पौडेलले भने।

संसद्का दुई ठूला दलसहितको संयुक्त सरकार बनेपछि राजनीतिक स्थिरताको सन्देश दिएको बताउँदै उनले स्थायी सरकार गठन भएसँगै मुलुकको अर्थतन्त्रमा देखिएका समस्या समाधान हुँदै जाने विश्वास व्यक्त गरे।

'अहिलेको निराशा चिर्ने र आशा जगाउने गरी सरकार अगाडि बढ्छ। उत्पादन र रोजगारीमा केन्द्रित भएर अघि बढ्ने छौँ, यसका लागि सबै क्षेत्रले परिवर्तित सन्दर्भमा सहयोग गर्ने अपेक्षा गरेको छु', पौडेलले भने, 'सेयर बजारलाई अर्थतन्त्रको ऐनाका रुपमा रहेकाले यो क्षेत्र सन्तुलित ढंगले अघि बढोस् भन्ने चाहना छ।'

Metro Mart
vianet

अर्थमन्त्रीका रुपमा जिम्मेवारी सम्हालेसँगै पौडेलले विकास वित्तका क्षेत्र पहिचानका लागि अध्ययन गरिनेसम्बन्धी पहिलो निर्णय गरेका छन्। मन्त्री पौडेलको उपप्रधानमन्त्रीका रुपमा तेस्रो र अर्थमन्त्रीका रुपमा चाैथो कार्यकाल हो। उनी प्रतिनिधिसभा निर्वाचन २०७९ मा रुपन्देही निर्वाचन क्षेत्र नं २ बाट प्रत्यक्षतर्फ निर्वाचित भएका थिए।

विसं २०५१ मा पहिलोपटक सांसद बनेका पौडेल विसं २०६४ र विसं २०७० मा संविधानसभा सदस्य थिए। उनले संविधान अभिलेख अध्ययन तथा निर्क्यौल समिति सभापति (२०७०) काम गरेका थिए। नवनियुक्त अर्थमन्त्री पौडेलले यसअघि विसं २०५३ मा युवा खेलकुद तथा संस्कृतिमन्त्री, विसं २०६५ मा जलस्रोतमन्त्री र विसं २०६७ मा रक्षामन्त्रीका रुपमा काम गरिसकेका छन्।

उपप्रधानमन्त्री एवं अर्थमन्त्री पौडेलले २०३५ देखि २०४६ सालसम्म भूमिगत जीवन बिताएका थिए। उनले २०३७ सालमा तीन वर्ष जेल र तीन हजार जरिवाना सजाय गरिएकोमा ४५ दिनमा जेल विद्रोह गरेका थिए। नेपाल कम्युनिष्ट पार्टी (एमाले)का प्रभावशाली नेताका रूपमा परिचित उपप्रधानमन्त्री पौडेल चार दशकदेखि राजनीतिमा सक्रिय छन्। उनी अहिले एमालेको उपाध्यक्षको जिम्मेवारी छन्।

अखिल नेपाल कम्युनिष्ट क्रान्तिकारी कोओर्डिनेशन कमिटी (माले) को सदस्य भएर विसं २०३५ असोजमा राजनीतिमा प्रवेश गरेका मन्त्री पौडेल विसं २०३५ मङ्सिरदेखि पूर्णकालीन सदस्य भएर काम गरेका थिए। विसं २०४१ मा नेकपा (माले) को जिल्ला कमिटी सचिव, विसं २०४७ नेकपा (एमाले) केन्द्रीय कमिटी सदस्य र विसं २०५९ मा एमाले स्थायी कमिटी सदस्य भएर काम गरिसकेका छन्।

विसं २०६५ मा एमाले सचिव, २०७१ सालमा नवौँ महाधिवेशनपछि एमाले उपमहासचिव तथा २०७५ सालमा एमालेको महासचिवको जिम्मेवारी लिएर उनले काम गरेका थिए। विसं २०१६ मङ्सिर १६ गते स्याङ्जामा जन्मिएका नवनियुक्त अर्थमन्त्री पौडेलको स्थायी ठेगाना बुटवल उपमहानगरपालिका-८, रुपन्देही रहेको छ। हाल उनी ललितपुरमा बस्दै आएका छन्। रासस

प्रकाशित: Jul 15, 2024| 16:17 सोमबार, असार ३१, २०८१
प्रतिक्रिया दिनुहोस्