एजेन्सी- युरोपेली च्याम्पियन क्लब रियल म्याड्रिडले लगातार तेस्रो पटक फिफा क्लब विश्वकपको उपाधि जितेको छ । यूएईमा शनिबार राति भएको फाइनल खेलमा यूएईको क्लब अल आइनलाई ४-१ को फराकिलो अन्तरले पराजित गर्दै रियलले क्लब विश्वकपको उपाभिध तेस्रो पटक जितेको हो ।
रियलको जितका लागि लुका मोड्रिच, मार्कस लोरेन्ट र सर्जियो रामोसले गोृल गरेका थिए भने एक गोल आत्मघाती उपहार पाएको थियो । पहिलो हाफमा १-० को अग्रता लिएको रियलले दोस्रो हाफमा थप दुई गोल र एक आत्मघाति उपहार गोल पाएको हो ।
रियलका लागि खेलको १४ औं मिनेटमा लुका मोड्रिचले सुरुवाती अग्रता दिलाएका थिए । तयसपछि ६० औं मिनेटमा मार्कस लोरेन्टेले रियलको अग्रता दोब्बर पार्दा कप्तान सर्जियो रामोसले ७९ औं मिनेटमा गोल गर्दै अग्रता तेब्बर पारे ।
घरेलु टोली अल आइनका सुकासा सिओतानीले खेल सकिन ४ मिनेट बाँकी रहँदा गोल गर्दै अग्रता कम गरे । तर इन्ज्युरी समयमा सिओतानीका याह्या नादेरले आत्मघाती गोल गरेपछि रियल ४-१ ले विजयी भयो ।
रियलको यो समग्रमा चौथो क्लब विश्वकप उपाधि हो । यता रियलले शनिबारको जितसँगै प्रतियोगितामा सर्वाधिक जितको कीर्तिमान पनि आफ्नो नाम गरेको छ । यसअघि बार्सिलोना र रियलले समान खेल जितेका थिए ।
प्रतियोगिताको उत्कृष्ट खेलाडी तथा सर्वाधिक गोलकर्ताको उपाधि रियलका ग्यारेथ बेलले जिते । उनले २ खेलमा ३ गोल गरेका थिए । सिल्भर बल अल आईनका कैओले पाउँदा ब्रोन्ज बल रिभर प्लेटका सान्टोस बोरेले पाए । रियल म्याड्रिडले फेयर प्ले अवार्ड पनि प्राप्त गर्यो ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४