शनिबार, असोज १९, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

बाढीपहिरोको कहर आज पनि उस्तै

 |  आइतबार, असार २३, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

आइतबार, असार २३, २०८१

काठमाडौं- शुक्रबार रातिदेखि भइरहेको वर्षाका कारण जनधनको क्षति हुने क्रम आज पनि जारी छ। काठमाडौं उपत्यकालगायत देशका विभिन्न स्थानमा वर्षा भइरहेको छ र जनधनको क्षति भएका विवरणहरु आइरहेका छन्।

triton college

हिजो शनिबार एकै दिन पहिरो र बाढीमा परेर १० जनाले ज्यान गुमाए। सात जना बेपत्ता रहेकोमा आज बिहान दुई जनाको शव फेला परेको छ। 

तनहुँको शुक्लागण्डकी नगरपालिका–७ स्थित काउरेको पहिरोमा परी बेपत्ता दुई जनाको शव आइतबार बिहान फेला परेको हो। हिरा नेपाली र सुनमाया कुमालको घरमाथिबाट आएको पहिरोमा परी ३ जना बेपत्ता भएका थिए।

बेपत्तामध्ये ३६ वर्षीया अनिशा बास्तोला र ६५ वर्षीय श्याम भण्डारीको शव आज बिहान भेटिएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ। ४० वर्षीया हिरा नेपालीको शव शनिबार बेलुका नै फेला परेको थियो। उक्त पहिरोमा परी ५ जना घाइते भएका थिए। 

उता राप्ती नदीमा बगेर बेपत्ता भएका दुईजनाको शव फेला परेको छ । 

Metro Mart
vianet

शनिबार राप्तीमा आएको बाढीले लमही नगरपालिका–७ नयाँबस्तीका ६२ वर्षीय मणिराम चौधरी लमही नगरपालिका–८ बगरापुर गाउँबाट बेपत्ता भएका थिए । उनको शव आज खोलाको बगरमा फेला परेको इलाका प्रहरी कार्यालय अमिलियाका प्रहरी प्रमुख लालबहादुर श्रेष्ठले जानकारी दिए ।

यस्तै दूध बिक्री गरी घर फर्कने क्रममा शनिबार बिहान लमही नगरपालिका–७ हस्नापुर घाटबाट राप्ती नदीको बाढीमा बगेर बेपत्ता भएका राजपुर गाउँपालिका–२ बेलाका १७ वर्षीय राजकुमार यादवको शव फेला परेको छ । उनको शव खोलाको बगरमा  फेला परेको हो । 

हस्नापुर घाटबाट राजपुर गाउँपालिका–२ का ४८ वर्षीय तुलाराम यादव र ४० वर्षीय दयाराम यादवको भने सशस्त्र प्रहरी बल नेपाल नं ४१ रिजर्भ गण अर्जुनखोलाबाट खटिएको टोलीले सकुशल उद्धार गरेको थियो । 

सिद्धार्थ राजमार्ग भासियो
स्याङ्जाको गल्याङ नगरपालिका–११ तुल्सीभञ्ज्याङमा सिद्धार्थ राजमार्ग भासिएको छ । शुक्रबारदेखि परेको अविरल वर्षाले तुल्सीभञ्ज्याङस्थित सुनौली–पोखरा जोड्ने सिद्धार्थ राजमार्गको झण्डै ५० मिटर सडक भासिएको हो । 

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक एवं प्रहरी प्रवक्ता इन्द्रबहादुर रानाका अनुसार गए राति सडक भासिएको हो । सडक भासिएपछि सवारीसाधन बीच बाटोमै थन्किएका छन् । वर्षा निरन्तर रूपमा भइरहेकाले सिद्धार्थ राजमार्गका विभिन्न स्थानमा पहिरो खस्ने क्रम रोकिएको छैन । ग्रामीण क्षेत्रका सहायक मार्ग पनि वर्षासँगै पहिरो आएकाले अवरुद्ध  छन् । 

विद्युत् अवरुद्ध हुँदा सेवाग्राही अन्धकारमा
शनिबार बिहानदेखि विद्युत् अवरुद्ध हुँदा बुटवल पावर कम्पनीका ४० हजार सेवाग्राही मर्कामा परेका छन् । शुक्रबारदेखिको अविरल वर्षासँगै आँधीखोलामा आएको बाढीका कारण विद्युत् सेवा अवरुद्ध भएको छ । स्याङ्जाको गल्याङस्थित बुटवल पावर कम्पनी (बिपिसी)को आँधीखोला जलविद्युत् आयोजनाको बाँधस्थलमा क्षति पुर्याएपछि शनिबार बिहान ८ बजेदेखि विद्युत् सेवा अवरुद्ध भएको हो ।

आँधीखोलाको माथिल्लो भेगमा भारी वर्षा भएसँगै आँधीखोलामा पानीको सतह बढ्न गई पानी सङ्कलन पोखरीमा ढुङ्गा, गिट्टी, बालुवा भरिएको बुटवल पावर कम्पनी आँधीखोला जलविद्युत् केन्द्र गल्याङका प्रमुख डोल खरेलले बताए । “खोलामा पानीको सतह बढिरहेकाले अहिले पानी सङ्कलन गरिएको पोखरी सफा गर्न सक्ने अवस्था छैन”, उनले भने, “खोलामा पानीको सतह घटेपछि पोखरी सफा गरेर मात्र टनेलमा पानी पठाउँछौँ ।”

गल्याङस्थित आँधीखोलाबाट उत्पादन भएको नौ दशमलव चार मेगावाट विद्युत् स्याङ्जाको दक्षिणी भेग, पाल्पाको पूर्वी भेगका रामपुर नगरपालिका, रम्भा गाउँपालिका, गुल्मी जिल्लाका केही भेग र पर्वतको केही भेगमा विद्युत् अवरुद्ध छ । स्याङ्जाको वालिङ–६ मिर्दी बजार नजिकै वितरण लाइनको पोल बाढीले ढलाएको छ । मर्मत गर्न प्राविधिक र उपकरण तयारी अवस्थामा राखिए पनि सडक अवरुद्धका कारण सम्भव नभएको उनले बताए।

बाढीले मुस्ताङको घमीमा नहर र पुल बगायो
बाढीले मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका–२ घमीमा नहर र काठेपुल बगाएको छ । लगातारको झरीसँगै घमीखोलामा आएको बाढीले घमी सिँचाइ आयोजनाको मुहान, नहर र घमीबाट ढाकमर जाने बाटोमा राखिएको काठको पुल बगाएको हो । 

लोघेकर दामोदरकुण्ड गाउँपालिका–२ का वडाध्यक्ष थुक्तेनछिरिङ गुरुङले सिँचाइ आयोजनाको मुहानसहित करिब २० मिटर नहर बाढीले बगाएको बताए । काठको पुल बगाएपछि घमी र ढाकमरका बासिन्दा आवतजावत गर्न खोलामा जोखिम मोलेर जङ्घार तर्नुपर्ने अवस्था छ । ढाकमर गाउँमा ५७ परिवारको बसोबास छ । घमी वडाको केन्द्र हो ।

नहर बगाउँदा घमीको एक हजार दुई सय रोपनीभन्दा बढी जमिनमा सिँचाइको समस्या भएको छ । स्याउ, उवा, जौ र फापर बालीमा सिँचाइ गर्न समस्या भएको छ ।  

लो–घेकर दामोदरकुण्ड गाउँपालिकाका अध्यक्ष लोम्साङ छोम्फेल विष्टले विपद् व्यवस्थापन कोषबाट खर्च गर्ने गरी नहर र पुल मर्मतको काम तत्कालै सुरु गरिने बताए।

नारायणी नदीको बाढीले झोलुङ्गे पुल बगायो
नारायणी नदीको बाढीले चितवनको भरतपुर महानगरपालिका–३ स्थित झोलुङ्गे पुल बगाएको छ ।  न्यूरोड र नगरवन जोड्ने नारायणी नदीमा रहेको झोलुङ्गे पुल बाढीले बगाएको हो । 

प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार गए राति ११:३० बजे  बाढीले दुवैतर्फको पिल्लर भत्काई पुल बगाएको हो । नारायणीमा पानीको बहाव नघटेकाले नदी तटीय क्षेत्रमा बसोबास गर्नेलाई सावधानी अपनाउन उनले अनुरोध गरेका छन्।

शनिबार परेको वर्षासँगै नारायणी नदीमा पानीको सतह बढ्दा एक सय ७१ जनालाई सुरक्षित स्थानमा सारिएको छ । शनिबार राति आएको नारायणीको बाढीका कारण घरमा पानी पसेकाले उनीहरूलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको हो ।

प्रमुख जिल्ला अधिकारी यादवका अनुसार भरतपुर महानगरपालिका–२ का २६ जना, बालकुमारी नर्सिङ कलेजको भवनमा बस्ने चारजना, भरतपुर–१७ गोब्रेनीका ५४, वडा नं १ देवघाटको नदी किनारमा बस्दै आएका २८ तथा वडा नं १६ गुम्बाचोकका ५९ जनालाई सुक्षित स्थानमा स्थानान्तरण गरिएको छ । उनीहरूलाई सुरक्षाकर्मीले डुङ्गाको सहायताले स्थानान्तरण गरेको हो । 

पहिरोले प्रहरी चौकीमा क्षति
पहिरोले बागलुङ नगरपालिका–६ मा पञ्चकोट प्रहरी चौकीमा क्षति पुगेको छ । सर्वसिद्धिधाम पञ्चकोट जाने बाटोमा बनाइएको सिँढी र पर्खाल भत्किँदा प्रहरी रहेको भवनमा क्षति भएको हो ।

मानवीय क्षति नभए पनि चारकोठे भवन पूर्ण रूपमा क्षति भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक ऋषिराम कँडेलले जानकारी दिए । पञ्चकोट क्षेत्रको सुरक्षाका लागि मन्दिर व्यवस्थापनले उक्त चौकी निर्माण गरेको हो । भवन भत्किएपछि त्यहाँ रहेका सुरक्षाकर्मीलाई अन्यत्र सार्ने तयारी भइरहेको छ ।

जिल्ला प्रहरी कार्यालय र गण्डकी प्रदेश विपद् व्यवस्थापन गुल्मको टोली उद्धारमा खटिएको छ । प्रहरी चौकीमा पाँच सुरक्षाकर्मी बस्दै आएका थिए । पहिराले पञ्चकोटमा निर्मित मन्दिरसहित अन्य संरचनामा समेत क्षति पुर्याएको छ । 

प्रकाशित: Jul 07, 2024| 10:42 आइतबार, असार २३, २०८१
प्रतिक्रिया दिनुहोस्