आइतबार, जेठ १७, २०८३

तातोपानी गाउँपालिकामा एकल पुरुष भत्ता कार्यक्रम

 |  बुधबार, असार १२, २०८१

नेपाल समय

नेपाल समय

बुधबार, असार १२, २०८१

जुम्ला- जिल्लाको तातोपानी गाउँपालिकाले एकल पुरुष भत्ता कार्यक्रम लागु गर्ने भएको छ। आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम र बजेटमा गाउँपालिकाभित्रका आर्थिक अवस्था कमजोर भएका, कुनै व्यवसाय नभएका एकल पुरुषको जीविकोपार्जन सहज बनाउन भत्ता कार्यक्रम लागु गरिएको हो।

National life

पालिकाले ५० वर्षदेखि ६० वर्षसम्मका एकल पुरुषलाई वार्षिक चार हजार रूपैयाँका दरले भत्ता दिने कार्यक्रम नीति तथा कार्यक्रममा समावेश गरेको गाउँपालिकाका अध्यक्ष नन्दप्रसाद चौलागाईंले जानकारी दिए।

सरकारले प्रदान गर्ने सामाजिक सुरक्षा भत्ताबाट लाभान्वित पुरुषबाहेक अन्य एकल पुरुषका लागि गरिएको उक्त कार्यक्रममा चार लाख रूपैयाँ बजेट विनियोजन गरिएको उनको भनाइ छ।

किसानलाई व्यावसायिक पशुपालनतर्फ आकर्षित गर्न कम्तीमा एक सय भन्दाबढी भेडाबाख्रा पाल्नेलाई प्रोत्साहन भत्ता वितरण गर्नका लागि दुई लाख रूपैयाँ बजेट विनियोजन गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत तीर्थबहादुर कठायतले बताए।

उनका अनुसार पालिकाभित्रबाट एमबीबीएस अध्ययनका लागि प्रवेश परीक्षा उत्तीर्ण गर्नेमध्ये एकजनालाई पहिलो वर्षको पढाइ खर्चबापत १५ लाख रूपैयाँ दिने गरी रकम विनियोजन गरेको छ।

Shivam cement

जेहेनदार तथा विपन्न विद्यार्थीलाई निःशुल्क लोकसेवा तयारी कक्षा सञ्चालन गर्न १५ लाख रूपैयाँ बजेट विनियोजन गरिएको गाउँपालिकाका उपाध्यक्ष रेवती रावलले जानकारी दिइन्।

सामुदायिक विद्यालयको शैक्षिक सुधार गर्न पालिकाभित्रका सबै विद्यालयमा शैक्षिक कचहरी कार्यक्रम सञ्चालनका लागि पाँच लाख रूपैयाँ बजेट विनियोजन गरिएको छ। त्यस्तै, अन्तरजातीय विवाह गर्ने जोडीलाई प्रोत्साहनस्वरूप २० हजार रूपैयाँ प्रदान गर्ने नीति तातोपानीले लिएको छ।

अति विपन्न नागरिकको स्वास्थ्य सेवामा पहुँच वृद्धि गर्न निःशुल्क स्वास्थ्य बीमा कार्यक्रमलाई पालिकाले निरन्तरता दिएको छ। सो बीमा कार्यक्रमका लागि १६ लाख रूपैयाँ बजेट विनियोजन गरिएको गाउँपालिकाका अध्यक्ष चौलागाईंले बताए। 

भौगोलिकरुपमा कठिन भएका वडाका ज्येष्ठ नागरिक, गर्भवती, बालबालिकालगायतको स्वास्थ्य परीक्षणका लागि घुम्ती शिविर सञ्चालन गर्न १० लाख रूपैयाँ बजेट नीति कार्यक्रमबाट विनियोजन गरिएको गाउँपालिकाले जनाएको छ। रासस

प्रकाशित: Jun 26, 2024| 17:33 बुधबार, असार १२, २०८१
प्रतिक्रिया दिनुहोस्