मंगलबार, पुस ८, २०८२

कोशीमा 'एक विद्यालय, एक नर्स कार्यक्रम' प्रभावकारी बन्दै

 |  सोमबार, असार ३, २०८१

नेपाल समय

नेपाल समय

सोमबार, असार ३, २०८१

कोशी प्रदेशमा ‘एक विद्यालय, एक नर्स कार्यक्रम’ प्रभावकारी बन्दै गएको छ। विद्यालय तहमा विद्यार्थीको स्वास्थ्य उपचार गर्ने उद्देश्यले सञ्चालन गरिएको सो  कार्यक्रमबाट विद्यार्थी लाभान्वित भएका छन्।

National life

प्रदेशका कूल एक सय ७३ सामुदायिक विद्यालयमा प्रदेश सरकारले नर्सिङ सेवा कार्यक्रम सञ्चालन गरेको छ । उक्त कार्यक्रमको माग गर्ने विद्यालयको सङ्ख्या बर्सेनि बढ्दै गएको छ । तत्कालीन अवस्थामा सामाजिक विकास मन्त्रालयले सञ्चालन गरेको यो कार्यक्रम प्रदेशमा छुट्टै स्वास्थ्य मन्त्रालय स्थापना भएसँगै २०७८ सालदेखि प्रदेश स्वास्थ्य निर्देशनालयमार्फत सञ्चालनमा छ।

कोशी प्रदेश स्वास्थ्य निर्देशनालय, धनकुटाका प्रमुख ज्ञानबहादुर बस्नेतका अनुसार सुरुमा यो कार्यक्रम प्रत्येक पालिकाका एक/एक विद्यालयमा सञ्चालन गर्न ल्याइएको थियो। तर पछिल्लो समय एक हजारभन्दा बढी विद्यार्थी सङ्ख्या भएका विद्यालयमा नर्सिङ कार्यक्रम सञ्चालन गर्न सकिने व्यवस्था छ। यो व्यवस्थासँगै धेरै विद्यालयबाट यो कार्यक्रम माग भई आएको उनले बताए।  

चालु आर्थिक वर्षमा मात्रै प्रदेशका विभिन्न १३  विद्यालयमा यो कार्यक्रम सञ्चालनका लागि स्वीकृत भइसकेको निर्देशनालयका प्रमुख बस्नेतले जानकारी दिए। यसअघि एक सय ६० विद्यालयमा मात्रै रहेको नर्सिङ सेवा कार्यक्रम चालु आर्थिक वर्षदेखिनै एक सय ७३ विद्यालयमा लागू गरिएको उनको भनाइ छ।

प्रमुख बस्नेतले भने, ‘यही आर्थिक वर्षभित्र कोशी प्रदेशका एक सय ७३ विद्यालयमा यो कार्यक्रम लागू हुँदैछ । माग आउने क्रम बढ्दै गएको छ।’

Laxmi sunrise bank
kumari

विद्यालयमा विशेष गरी किशोरीले आफ्नो स्वास्थ्य समस्याका कारण बीचैमा पढाइ छाड्ने समस्यालाई मध्यनजर गरेर विद्यालयमा नर्सिङ सेवा कार्यक्रम सञ्चालन गरिएको र यसको सकारात्मक प्रभाव परेको प्रमुख बस्नेतको भनाइ छ। यससँगै अस्वस्थकर र स्वास्थ्यमा असर पुग्ने खानेकुराको लत लाग्नबाट जोगाउन र विद्यार्थीमार्फत समुदायमा जनचेतनाका कार्यक्रम चलाउन विद्यालय नर्सिङ कार्यक्रमबाट मद्दत पुगेको उनले बताए।

स्वास्थ्य मन्त्रालय, स्थानीय तह र विद्यालयबीच त्रिपक्षीय सम्झौता गरी कार्यक्रम सञ्चालन तथा व्यवस्थापन गर्ने गरिएको छ। झापाको कमल गाउँपालिका–५ स्थित मङ्गलमय माविमा नर्सिङ सेवासँगै स्वास्थ्य इकाइको नेतृत्व गरिरहेकी नर्स मुना अधिकारीले नर्सिङ कार्यक्रमका अतिरिक्त स्वास्थ्य चेतनासम्बन्धिका अन्य जनचेतनामूलक कार्यक्रम पनि गर्ने गरिएको बताइन। स्वास्थ्य सम्बन्धिका राष्ट्रिय दिवसका सन्दर्भमूलक कार्यक्रम, बालबालिकालाई लगाइने खोपलगायतका स्वास्थ्य कार्यक्रमलाई लक्षित गरेर विद्यालय तहमा पनि विभिन्न कार्यक्रम गर्ने गरिआएको उनले स्पष्ट पारिन। उक्त विद्यालय सो कार्यक्रम सञ्चालन गर्ने जिल्लाकै पहिलो हो।

विद्यालय तहबाटै बालबालिकालाई सन्तुलित र पोषिलो खानेकुराको लेखाजोखा, नियमित स्वास्थ जाँच, प्राथमिक उपचारको व्यवस्था, अभिभावक–बालबालिकालाई स्वास्थ्य सुरक्षाका विषयमा समेत जानकारी गराउने कार्यनियमित रुपमा हुदैआएका छन्। मङ्गलमय माविका निमित्त प्रधानाध्यापक डम्बरुप्रसाद पोखरेलले नर्सिङ सेवाका माध्यमबाट विशेष गरी किशोरीलाई पर्ने स्वास्थ्य समस्या समाधान गर्न सहज भएको उल्लेख गरे। यो कार्यक्रमबाट विद्यार्थीको नियमित स्वास्थ्य जाँच मात्र नभएर विषयगत पठनपाठनमा समेत फाइदा पुगेको उनको भनाइ छ।

प्रकाशित: Jun 17, 2024| 20:31 सोमबार, असार ३, २०८१
प्रतिक्रिया दिनुहोस्