काठमाडौं- विजयदशमीको अवसर पारेर शेफर्ड कलेज काठमाडौँले काठमाडौँको बानेश्वरस्थित असहाय सेवा सदनमा विशेष कार्यक्रम आयोजना गरी ज्येष्ठ नागरिकहरूसँग दशैँको खुसी, आत्मीयता तथा सद्भाव साटासाट गरेको छ। चाडपर्वको खुसीलाई सामाजिक सेवाका कार्यसँग जोड्ने उद्देश्यका साथ आयोजित सो कार्यक्रममा ज्येष्ठ नागरिकहरूलाई सहयोग प्रदान गरिनुका साथै विविध सांस्कृतिक तथा सांगीतिक प्रस्तुतिसमेत प्रस्तुत गरिएको थियो।
कलेजको बीआईटी (BIT) र बीएएमटी (BAMT) कार्यक्रमका विद्यार्थीहरूको सक्रिय सहभागितामा सम्पन्न उक्त कार्यक्रममा विद्यार्थीहरूले आश्रममा रहेका ज्येष्ठ नागरिकहरूसँग भेटघाट गरी दशैँको शुभकामना आदानप्रदान गरेका थिए। त्यस क्रममा विद्यार्थीहरूले ज्येष्ठ नागरिकहरूबाट टीका तथा आशीर्वाद ग्रहण गर्नुका साथै उहाँहरूलाई सहयोग रकमसमेत हस्तान्तरण गरे। विद्यार्थीहरूको सांगीतिक प्रस्तुतिले कार्यक्रम वातावरणलाई थप उल्लासमय बनाएको थियो।
चाडपर्वको समयमा परिवार र आफन्तसँग खुसी साट्ने परम्परालाई सामाजिक सेवासँग जोड्दै आयोजना गरिएको यस कार्यक्रमले ज्येष्ठ नागरिकप्रति सम्मान, माया र आत्मीयता प्रकट गर्ने अवसर प्रदान गरेको छ। विद्यार्थी र ज्येष्ठ नागरिकबीचको यो भेटघाटले दुई पुस्ताबीचको सम्बन्धलाई नजिक बनाउनुका साथै सामाजिक संवेदनशीलता र मानवीय सेवाको महत्त्वलाई उजागर गरेको छ।
कार्यक्रममा असहाय सेवा सदनका प्रशासकीय अधिकृत प्रेमराज उप्रेतीले दाताहरूको निरन्तर सहयोगबाट नै संस्थाले आफ्ना सेवा कार्यहरू अगाडि बढाउन सकिरहेको बताए। दाताहरूबाट प्राप्त सहयोग अमूल्य रहेको उल्लेख गर्दै उनले विद्यार्थीहरूको अग्रसरतामा भएका यस्ता कार्यक्रमले नयाँ पुस्तामा सेवाभाव, मानवीय संवेदना र सामाजिक उत्तरदायित्वको भावना विकास गर्न महत्त्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरे।
यस्तै, शेफर्ड कलेजका सहायक क्याम्पस प्रमुख प्रेम पुन्थोकीले दशैँको पूर्वसन्ध्यामा मनोरञ्जन र सांस्कृतिक गतिविधिका साथै सामाजिक सेवामा योगदान पुर्याउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको जानकारी दिए। चाडपर्वलाई व्यक्तिगत खुसीमा मात्र सीमित नराखी समाजका विभिन्न वर्गहरूसँग खुसी बाँड्नु आवश्यक रहेको भन्दै कलेजले आगामी दिनहरूमा पनि सामाजिक उत्तरदायित्वअन्तर्गत यस्ता कार्यक्रमलाई निरन्तरता दिने बताए।
उक्त कार्यक्रममा कलेजका संयोजक जयराज खड्का, डीबी ग्रुपका एडभाइजर अभिषेक रोय लगायतको उपस्थिति रहेको थियो। आश्रममा सम्पन्न कार्यक्रमपश्चात् कलेज परिसरमा पनि दशैँ विशेष सांगीतिक तथा सांस्कृतिक कार्यक्रम आयोजना गरिएको थियो, जहाँ विद्यार्थीहरूले सांस्कृतिक प्रस्तुतिमार्फत चाडपर्वको उल्लास साटेका थिए। शैक्षिक गतिविधिका साथसाथै सामाजिक सेवामा विद्यार्थीहरूको सहभागिता अभिवृद्धि गर्ने उद्देश्यले आयोजित यस कार्यक्रमले दशैँको खुसी, सद्भाव र मानवीय सम्बन्धको महत्त्वलाई उजागर गरेको कलेजले जनाएको छ।