सोमबार, भदौ ३०, २०८२

लुम्बिनीमा घट्यो बाल मृत्युदर

 |  सोमबार, असार ३, २०८१

नेपाल समय

नेपाल समय

सोमबार, असार ३, २०८१

vianetvianet

लुम्बिनी प्रदेशमा बाल मृत्युदर घटेको छ। आर्थिक वर्ष ०७५/७६ मा पाँच वर्षमुनिको बाल मृत्युदर प्रतिहजार ४५ रहेकामा हाल ३३ रहेको छ।

Kumaribank

शनिबार प्रस्तुत गरिएको बजेट वक्तव्यमा लुम्बिनीका आर्थिक मामिला तथा योजनामन्त्री चेतनारायण आचार्यले नवजात शिशु मृत्युदर प्रतिहजार ३० रहेकामा हाल २१ मा सीमित भएको तथ्यांक उल्लेख गरे। 

लुम्बिनीमा गरिबीको दर पनि घटेको छ। पाँच वर्षअघि ३० प्रतिशत रहेकामा हाल गरिबीको दर १८ प्रतिशतमा झरेको छ। बेरोजगारीको दर ११ प्रतिशतबाट घटेर आठ प्रतिशत पुगेको छ।

पाँच वर्षअघि रु. पाँच खर्ब ४० अर्ब रहेको कुल गार्हस्थ्य उत्पादन चालू आवमा रु. सात खर्ब ७८ अर्ब हुने अनुमान गरिएको छ। प्रतिव्यक्ति आय अमेरिकी डलर आठ सय तीनबाट बढेर एक हजार एक सय २६ पुगेको जनाइएको छ।

त्यस्तै, माध्यमिक तह (कक्षा ९–१२)को कुल भर्नादर ७५ प्रतिशतबाट ८४ प्रतिशत र खुद भर्नादर ४० प्रतिशतबाट ५७ प्रतिशतमा वृद्धि भएको छ। लुम्बिनीमा सिँचाइ व्यवस्था पनि वृद्धि भएको छ। बाह्रै महिना सिञ्चित हुने भूमि २४ प्रतिशतबाट ३५ प्रतिशत पुगेको उल्लेख गरिएको छ।

Metro Mart

लुम्बिनी प्रदेश माछामासु र दुध उत्पादनमा आत्मनिर्भर भई अन्य प्रदेशमा समेत आपूर्ति भइरहेको जनाइएको छ। कुल गार्हस्थ्य उत्पादनमा औद्योगिक क्षेत्रको योगदान १४ प्रतिशत पुगेको मन्त्री आचार्यले बताए।

०७५ मा सडकको लम्बाइ ११ हजार दुई सय ३३ किलोमिटर रहेकामा हाल १५ हजार ७६ पुगेको छ। ३० मिनेटको दूरीमा पक्की सडकमा पहुँच भएको जनसंख्या ५० प्रतिशतबाट ६५ प्रतिशत पुगेको छ भने एक सय नौमध्ये एक सय आठ पालिकामा बाह्रै महिना पहुँचयोग्य सडक निर्माण भएको जनाइएको छ।

लुम्बिनीमा विद्युतको पहुँच पनि विस्तार भएको छ। विद्युतमा पहुँच पुगेको जनसंख्या ८१ प्रतिशतबाट ९८ प्रतिशत पुगेको छ भने इन्टरनेटमा पहुँच भएका घरपरिवार ४९ प्रतिशतबाट ७६ प्रतिशत पुगेको उल्लेख गरिएको छ।

प्रकाशित: Jun 17, 2024| 20:01 सोमबार, असार ३, २०८१
प्रतिक्रिया दिनुहोस्