काबुल- अफगानिस्तनाका राष्ट्रपति मोहम्मद असरफ घानीले देशमा तालिवान समूहले गतिविधि तीव्र पारेको भएपनि यसलाई छिट्टै रोकिने बताएका छन्।
अफगानिस्तानको आधाभन्दा बढी प्रान्तका राजधानी तालिवान समूहले नियन्त्रणमा लिएको भनी समाचार आइरहेका समय उहाँले द्वन्द्वग्रस्त आफ्नो मुलुकमा राजनीतिक अस्थिरता रोक्ने प्रतिवद्धता व्यक्त गरे।
'अफगानिस्तानको सुरक्षा फौजले देशको रक्षा गरेको र सेनाबीच सद्भाव सुनिश्चित गर्नु मेरो प्राथमिकता हुनेछ,' घानीले राष्ट्रका नाममा गरेको आफ्नो छोटो टेलिभिजन सम्बोधनमा भने।
सम्बोधनमा उनले अफगानिस्तानमा थप अस्थिरता हुन नदिने दाबी गरे। 'अफगानिस्तानीहरूले युद्धका कारण दुःख पाइरहेका छन् र अफगानिस्तानका जनताको थप कष्ट रोक्न म तपाईंहरुलाई विश्वास दिलाउँछु र यो मेरो ऐतिहासिक जिम्मेवारी हु,' उनले भनेका छन्।
राष्ट्रपति घानीले ‘अफगानिस्तानका जनता, राजनीतिक दल तथा तीनका नेता र अन्तर्राष्ट्रिय मित्रहरूसँग परामर्श’ सुरु गरेको र परिणाम चाँडै आउने पनि विश्वास व्यक्त गरे। तालिबान विद्रोहीहरुले देशका ३४ प्रान्तका १८ वटा प्रान्तीय राजधानीहरु कब्जामा लिएको दावी गरिरहेका समय राष्ट्रपतिको यो भनाई आएको हो।
यता, तालिवान लडाकुले अफगानिस्तानका प्रान्तीय राजधानी कब्जा गर्न थालेपछि अमेरिकाको पहिलो सैन्य टोली अफगानिस्तान आइपुगेको छ।
केन्द्रीय राजधानी काबुलमा रहेको अन्तरराष्ट्रिय विमानस्थलमा उत्रिएका अमेरिकी सैनिक अफगानिस्तानमा रहेका अमेरिकी नागरिकलाई उद्धार गर्न आएका हुन्।
उनीहरुले अफगानिस्तानस्थित अमेरिकी कुटनीतिज्ञ, कर्मचारीलगायतका अमेरिकी नागरिकलाई स्वदेश फर्काउने भएका छन्।
अफगानिस्तानमा सङ्घर्षरत तालिवान लडाकूको समूहले अहिलेसम्म अफगानिस्तानका आधाभन्दा बढी प्रान्तीय राजधानी आफूको नियन्त्रणमा रहेको दाबी गरेको छ।
देशभरी रहेका ३४ प्रान्तमध्ये १८ प्रान्तका राजधानी तालिबान लडाकुको नियन्त्रणमा रहेको उनीहरुले घोषणा गरेका छन्।
अफगानिस्तानमा रहेका अमेरिकी सैनिक फिर्ता भएसँगै तालिबान लडाकूले राजधानी नै नियन्त्रणमा लिने अभियान सुरु गरेका हुन्। विदेशी सैनिक फिर्ता भएको दुई हप्ता नबित्दै तालिवानले प्रान्तीय राजधानी नियन्त्रणमा लिने अभियान चलाइरहेका छन्।
अमेरिकी राष्ट्रपति जो बाइडेनले पनि शुक्रबार अफगानिस्तानका एक मन्त्रीसँग कुराकानी गर्दै देशको अवस्थाका बारेमा चासो र चिन्ता व्यक्त गरेका थिए। छलफलकै आधारमा शनिबार अमेरिकी सैनिक अफगानिस्तान आएको बताइएको छ।