काठमाडौं- सहिद स्मारक ‘ए’ डिभिजन लिगमा बुधबार दुई खेल हुदै छन् । पहिलो खेलमा विभागीय टिम नेपाल पुलिस क्लबले ब्रिगेड ब्वाइज क्लबसँग खेल्नेछ भने दोस्रो खेलमा थ्रीस्टार क्लब र त्रिभुवन आर्मी क्लबवीच प्रतिष्पर्धा हुँदैछ ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने दुबै खेलमा पहिलो खेल बिहान ११ बजे सुरु हुनेछ भने दोस्रो खेल दिउँसो २:३० बजे हुनेछ । आठ खेल सकिँदा नेपाल पुलिस क्लब १४ अंक सहित पाँचौं स्थानमा छ । ब्रिगेड ब्वाइज क्लब चार अंक जोड्दै पुछारबाट तेस्रो स्थानमा छ । ब्रिगेड ब्वाइजका लागि पुलिससँग अंक खोस्नु नै ठूलो सफलता हुनेछ ।
थ्रीस्टारको उपाधि अभियानको सम्भावना थप राख्न यो खेल थ्रीस्टारका लागि यो खेल महत्वपूर्ण छ । किनभने तालिकामा थ्रीस्टार २१ अंक सहित तेस्रो स्थानमा छ । आर्मी १७ अंक सहित चौथो स्थानमा छ ।
थ्रीस्टार पराजित भएको खण्डमा उसलाई उपाधि अभियानमा गम्भिर धक्का लाग्नेछ । उपाधिको दाबेदारिता कायम राख्नका लागि थ्रीस्टारलाई यो खेल जित्नै पर्ने दबाब छ । दोहोरो पहेँलो कार्डका कारण आज आर्मीका कप्तान भरत खवासले खेल गुमाउनेछन् ।
जसको फाइदा थ्रीस्टारले उठाउन सक्नेछ । आर्मी भने शीर्ष स्थानको मनाङ मस्र्याङ्दी क्लबभन्दा १० अंकले पछि छ । करिव उपाधि होडबाट बाहिरिसकेको आर्मीले बराबरीमात्र गरेपनि थ्रीस्टारलाई घाटा लाग्नेछ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४