काठमाडौं- एभरेष्ट प्रिमियर लिग (इपीएल) टी-२० क्रिकेट अन्तर्गत बुधबार इलिमिनेटरमा चितवन टाइगर्स र भैरहवा ग्लाडियटर्स भिड्दैछन् ।
त्रिवि क्रिकेट मैदानमा एक बजे हुने खेलको विजेताले काठमाडौं किंग्स् इलेभेनसँग दोस्रो इलिमिनेटर खेल्ने मौका पाउनेछ । लिग चरणमा मात्र दुई खेल जितेर चितवनले इलिमिनेटरमा स्थान बनाएको थियो ।
अन्तिम खेलमा विराटनगर वारियर्स काठमाडौंसँग पराजित भएपछि रनरेटमा अघि रहँदै चितवन शीर्ष चारभित्र रहँदै इलिमिनेटरमा स्थान बनाउन सफल भएको थियो ।
लिग चरणमा चितवन भैरहवा ग्लाडियटर्ससँग १२ रनले पराजित भएको थियो । लिग चरणका अन्य खेलमा चितवन ललितपुर प्याट्रियोट्सँग ११ रनले र काठमाडौंसँग ६ विकेटले पराजित भएको थियो ।
समूहको अन्तिम दुई खेलमा विराटनगरलाई पाँच रनले र पोखरालाई सात विकेटले हराएपछि चितवनले नाटकीय रुपमा नकआउट चरणको यात्रा तय गरेको थियो ।
भैरहवाले भने शुरुकै तीन खेल जित्दै शीर्ष चारभित्र स्थान बनाउन सफल भएको थियो । पहिलो तीन खेलमा भैरहवाले पोखरालाई चार विकेटले हराएको थियो ।
त्यसपछि चितवनलाई हराएको भैरहवाले विराटनगरमाथि चार विकेटको जीत दर्ता गरेको थियो । त्यसपछिका दुई खेलमा भने भैरहवा ललितपुर र काठमाडौंसँग पराजित भएको थियो ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४