सोमबार, जेठ २६, २०८२

तातो हावाको लहर अझै बढ्ने

 |  सोमबार, वैशाख १७, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख १७, २०८१

vianetvianet

काठमाडौं- विगत केही दिनदेखि देशका अधिकांश भू–भागको अधिकतम तथा न्यूनतम तापक्रम क्रमिकरुपमा वृद्धि भइरहेकाले तातो हावाको लहर अझै बढ्ने भएको छ। 

लुम्बिनी प्रदेशका तराई भू–भागका केही स्थानमा विगत केही दिनदेखि अधिकतम तापक्रम ४० डिग्री सेल्सियस वा सोभन्दा बढी मापन गरिएको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यो क्रम वैशाख २० गतेसम्म जारी रहने मौसमविद्ले बताएका छन्।

आगामी केही दिनसम्म देशभरको तापक्रमको अवस्थाको विश्लेषणअनुसार तराईका भू–भागमा अत्यधिक गर्मीको सम्भावना रहेको विभागले बुलेटिनमार्फत चेतावनीसहितको सूचना जारी गरेको छ।

'तातो बढ्ने भएकाले आवश्यक तयारी गर्नुहुन तथा आवश्यक सतर्कता अपनाउनहुन अनुरोध छ,' विभागले भनेको छ। महाशाखाका मौसमविद् रोजन लामिछानेले तातो बढेसँगै आगलागी, हावाहुरीलगायतका समस्या झन बढ्न सक्ने भएकाले सावधानी अपनाउनुपर्ने बताए। उनका अनुसार यस वर्ष सबैभन्दा बढी ४३.६ डिग्री तापक्रम मापन भएको छ। भैरहवामा वैशाख आठ गते उक्त तापक्रम रेकर्ड भएको थियो।

सूचनामा भनिएको छ, 'तराईका ती भू–भागमा आजदेखि यही वैशाख २० गतेसम्म तातो हावा तथा तातो लहरको सम्भावना रहेको हुनाले सोको असरबाट बच्न आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ। साथै पहाडी भू–भागका उपत्यका तथा खोचमा समेत तापक्रम क्रमिकरुपमा बढ्न सक्ने सम्भावना रहेकाले यस महाशाखाबाट जारी हुने सूचना तथा पूर्वानुमानमा अध्यावधिक रहनु हुन अनुरोध छ।'

National life insurance

सम्भावित असर तथा सुझाव
तातो हावा तथा तातो लहरबाट हुने सम्भावित असर जस्तै : थकाइ लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने, चक्कर आउने, बेहोस हुने, मांसपेशी दुख्ने, बान्ता आदि हुनसक्ने छ।

तातो हावा तथा तातो लहरबाट बच्न बढी गर्मीको समयमा घरभित्र अर्थात् चिसो स्थानमा रहने, बाहिरी वातावरणमा बढी नजाने, घाममा बढी नजाने, हल्का लुगा लगाउने, सुती कपडा लगाउने, बाहिर निस्कँदा टाउको छोप्ने, टोपी लगाउने, नियमित (पटक–पटक) पानी तथा झोल पदार्थ (जुस, सर्वत, आदि) प्रशस्त मात्रामा पिउन स्वास्थ्यकर्मीले अनुरोध गरेका छन्।

यस्तै स्वास्थ्यमा समस्या भएमा स्वास्थ्यकर्मीसँग नियमित सम्पर्कमा रही थप सल्लाह सुझाव लिन समेत भनिएको छ। महाशाखाले दैनिक जारी हुने मौसम पूर्वानुमान बुलेटिनमा समेत सोहीअनुसार नियमितरूपमा अद्यावधिक गरिने भएकाले अद्यावधिक मौसमी सूचनाको जानकारी लिन पनि अनुरोध गरेको छ।

प्रकाशित: Apr 29, 2024| 17:16 सोमबार, वैशाख १७, २०८१
प्रतिक्रिया दिनुहोस्