एक उपसम्पादकको हैसियतले ‘द डेली न्युज’ पत्रिकाको पहिलो न्युज मिटिङमा भाग लिँदाको क्षण म यतिबेला झलझली सम्झिरहेको छु। पत्रिकाको सम्पादकीय टोलीका सदस्य भेला हुने त्यो मिटिङमा भोलिपल्ट बिहान छापिने अखबारमा कुन–कुन समाचार कुन पृष्ठमा कसरी प्रस्तुत गर्ने भन्ने निर्णय हुन्थ्यो। र, त्यस्तो मिटिङ हेरक दिन मध्यान्ह् बस्ने गरेको थियो।
मिटिङ सम्पादक आफैंले चलाइरहेका थिए। म उनी बसेको ठाउँभन्दा परको छेउको कुनामा थिएँ। त्यतिबेला समाचारको विषयवस्तुमा अश्वेत व्यक्तिहरुको उपस्थिति विरलै हुन्थ्यो। त्यो मिटिङमा म मात्र एक अश्वेत व्यक्ति थिएँ।
समाचारको छलफल हुँदै गर्दा न्यु आइल्याण्डमा एउटा बच्चा मारिएको प्रसंग उठ्यो। कुर्सीमा उपरखुट्टी लगाएर आराम मुद्रामा बसिरहेका सम्पादकले हातमा कागज लिएका थिए। बच्चा मारिएको प्रसंग उठेपछि उनले सोधे।
‘त्यो बच्चा कुन रंगको हो?’
उनको त्यो प्रश्नले कोठामा मौनता छायो। उनले के भन्न खोजेका हुन् भन्ने सबैले बुझेका थिए। यदि मारिएको त्यो बच्चा ‘गोरो’ भएको भए त्यो समाचारले निकै ठूलो ठाउँ पाउने थियो। त्यसले निकै सनसनी मच्चाउन पनि सक्थ्यो।
तर कसैले पनि केही प्रतिक्रिया नदिएपछि हतारिँदै उनले प्रश्न दोहोर्याए। त्यसपछि उनको आँखा टेबलको पल्लो कुनामा बसिरहेको ममाथि पर्यो।
वर्षौं पहिलेका ती दिनहरुपछि द डेली न्युजको समाचार प्रकाशन शैली निकै नै फेरिएको छ। मैले पनि सोही अखबारबाट आफूलाई पत्रकाररितामा स्थापित गर्ने अवसर पाएको हुँ।
बेस्लियन विश्वविद्यालयका २१ वर्षे छात्रालाई केही वर्षअघि न्यूयोर्क विश्वविद्यालयमा सँगसँगै समर कोर्स गरेका एक युवकले हत्या गरेको समाचारको कभरेज पत्रिका र टेलिभिजनहरुमा जसरी उपेक्षित भयो, त्यसले मलाई पुरानै दिनको स्मरण गरायो।
वास्तवमा यो एक दुःखदायी तर राम्रो समाचार महत्व भएको घटना थियो भन्नेमा कुनै शंका छैन। तर त्यो समाचार छायामा पर्यो। अमेरिकामा हरेक १० वर्षमा हुने त्यस्तै डेढ लाख हत्याका घटनासम्बन्धी समाचारलाई पनि हामीले यसरी नै वास्ता गर्न नसकेको बारे मैले बारम्बार आवाज उठाउँदै आएको छु।
सुन्दा अपत्यारिलो लाग्ला, तर सञ्चारमाध्यमहरुले अहिले पनि यस्ता घटनामा रंगभेदी व्यवहारलाई पन्छाउने गरेका छन्। आजभोलिका सम्पादकले उबेलाको मेरा सम्पादकले जस्तो ‘त्यो बच्चा कुन रंगको हो?’ भनेर सोध्ने आँट त गर्दैनन् तर उनीहरुका दिमागमा अझै त्यो प्रश्न प्रतिध्वनित भइरहेका हुन्छन्।
त्यसैले त हामीले सिकागोमा भएको कहालीलाग्दो घटनाबारे समाचारमाध्यमहरु कमैमात्र देख्न वा सुन्न पायौं। शैक्षिक सत्र सुरु भएयता त्यहाँ सार्वजनिक स्कुलका करिब तीन दर्जन विद्यार्थीको हत्या भइसकेको छ। तीमध्ये धेरैलाई सिधै गोली प्रहार गरिएको थियो।
ती बालबच्चा र युवायुवतीलाई विभिन्न अवस्था र परिस्थितिमा हत्या गरिएको थियो। कोहीलाई सार्वजनिक बस चढ्दै गर्दा त कोहीलाई पार्कमा खेल्दै गर्दा हत्या गरियो। कोही कारको पछाडिको सिटमा बसिरहेका बेला गोलीको निशाना बने भने कोही झगडा र दोहोरो भीडन्तको सिकार बनेका थिए।
यस्ता त्रासदपूर्ण घटनाको अझै अन्त्य भएको छैन। तर, दुःखको कुरा सञ्चारमाध्यमहरुमा भने ती घटनाहरुले उचित महत्व पाउन सकेका छैनन्। किनभने घटनामा परेका अधिकांश बच्चा तथा विद्यार्थीहरु अफ्रिकन–अमेरिकन वा ल्याटिन–अमेरिकन हुन्।
यस विपरीत सञ्चारमाध्यमहरुले बेस्लेका विद्यार्थी जोहोना जस्टिन जिनिचको समाचार कथा र मसाजको सेवा दिने जुलिसिया ब्रिसिमको होटलको कोठामै भएको हत्याले ठूलो सनसनी मच्यायो। समाचारको मूल्य निर्धारण गर्ने क्रममा हामी कसरी दोहोरो मापदण्ड अपनाउँछौं र कसैको जीवन मूल्यलाई कसरी अरुको भन्दा उचो ठहर्याउँछौं भन्ने यी केही उदाहरण मात्र हुन्।
अर्को दिक्कलाग्दो पक्ष के भने अपराधजन्य समाचारहरुमाथि विभेद गरिहेका छन् भन्नेतर्फ हामीले गम्भीर विचार गर्नुपर्ने आवश्यक छ। अपराधसम्बन्धी समाचारहरुको सकेसम्म धेरै कभरेज गरिनुपर्छ। तर त्यस्तो कभरेज सनसनी फैलाउने उद्देश्यले नभई मानवीय दृष्टि अझ व्यापक गराउन सकिन्न भने त्यस्तो कभरेजको के अर्थ?
घटनाहरुको त्रासदीपूर्ण पक्षले पनि पाठक–दर्शकहरुलाई भविष्यमा त्यस्ता कार्य रोक्न के गर्नुपर्छ भन्ने सन्देश दिन सक्छन्। त्यसैले त्यस्ता पक्षहरुले समाचारमा पर्याप्त स्थान पाउनु राम्रो हो। तर त्यस क्रममा जातीय र आर्थिक पक्षलाई नजरअन्दाज गरिन्छ र सैबलाई समान मानवीय व्यहार गरिँदैन भने त्यस्तो समाचारको के अर्थ?
(७६ वर्षीय पत्रकार बब हर्बट न्युयोर्क टाइम्सका विचार पृष्ठका स्तम्भकार हुन्। उनी जातीय विभेदको बारेमा कलम चलाउने गर्छन्)