आइतबार, असोज ५, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • वीरगञ्ज महानगरले नौ महिनामा उठायो ३६ करोड ७६ लाख राजस्व

वीरगञ्ज महानगरले नौ महिनामा उठायो ३६ करोड ७६ लाख राजस्व

 |  मंगलबार, वैशाख ४, २०८१

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख ४, २०८१

पर्सा- वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्षको नौ महिनामा ३६ करोड ७६ लाख नौ हजार तीन सय ९८ रूपैयाँ राजस्व संकलन गरेको छ।

Kumaribank

महानगरका अनुसार चालु आवमा सम्पत्ति कर शीर्षकमा १२ करोड ७० लाख ४३ हजार सात सय ८२ रूपैयाँ संकलन भएको छ। महानगरले दोस्रो धेरै घरबहाल करबाट चार करोड ५५ लाख ७५ हजार आठ सय ६७ रूपैयाँ रहेको छ। महानगरले २४ वटा शीर्षकमा  राजस्व संकलन गर्दै आएको छ।

वीरगञ्ज महानगरपालिका राजस्व महाशाखा प्रमुख मनोज कर्णले महानगरले गत आवको नौ महिनाको तुलनामा चालु आवमा दुई करोड ९५ लाख रूपैयाँभन्दा बढी राजस्व संकलन गरेको बताए। 'गत आवको नौ महिनाको तुलनामा यो आवमा राजस्व संकलनमा सुधार देखिएको छ', उनले भने।

गत आवको नौ महिनामा भने ३३ करोड ८० लाख ५४ हजार तीन सय ६० रूपैयाँ राजस्व संकलन भएको थियो।

वीरगञ्ज महानगरले गत आवभरिमा भने ५७ करोड एक लाख ७३ हजार दुई सय एक रूपैयाँ राजस्व संकलन गरेको थियो। त्यसैगरी महानगरले आव २०७८/७९ मा भने ५१ करोड २२ लाख २४ हजार चार सय ९० रूपैयाँ राजस्व संकलन गर्‍यो।

Metro Mart

वीरगञ्ज महानगरपालिकाका नगरप्रमुख राजेशमान सिंहले वीरगञ्जमा आयोजित सार्वजनिक कार्यक्रममा वीरगञ्जका ठूला उद्योगी व्यवसायीलाई घरबहाल कर स्थानीय सरकारलाई बुझाउन अनुरोध गरेका थिए।

'नेपालको संविधानमा नै घरबहाल कर स्थानीय तहले संकलन गर्ने भनिएको छ', उनले भने, 'ठूला उद्योगले घरबहाल कर आन्तरिक राजस्व कार्यालयमा कर तिर्दा स्थानीय सरकारको राजस्वमा केही कमी आएको छ। त्यसैले घरबहाल कर स्थानीय सरकारलाई बुझाउन अनुरोध गर्दछु।' 

महानगरले चालु आव २०८०/८१ को लागि तीन अर्ब २१ करोड ३५ लाख ४४ हजार रूपैयाँ बजेट विनियोजन गरेको थियो। विनियोजित बजेटमध्ये चालुतर्फ दुई अर्ब ४८ करोड ८५ लाख पाँच हजार रूपैयाँ र पुँजीगततर्फ ६८ करोड ८७ लाख १५ हजार रूपैयाँ छुट्याइएको थियो। महागरले बजेट तथा नीति कार्यक्रममा चालु आवमा आन्तरिक राजस्वबाट एक अर्ब २० करोड ४४ लाख ३० हजार रूपैयाँ संकलन गर्ने लक्ष्य निर्धारण गरेको थियो। रासस

प्रकाशित: Apr 16, 2024| 20:01 मंगलबार, वैशाख ४, २०८१
प्रतिक्रिया दिनुहोस्