काठमाडौं। चालू आर्थिक वर्ष २०८३/०८४ को साउन र भदौ अर्थात् दोस्रो महिनामा विकास बैंकहरूले झण्डै साढे एक अर्ब खुद नाफा आर्जन गरेका छन्।
नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार हाल सञ्चालनमा रहेका १७ विकास बैंकले चालू आवको दुई महिनामा कुल एक अर्ब ४२ करोड ७२ लाख २० हजार रुपैयाँ खुद नाफा कमाएका हुन्।
बैंकहरूले आर्जन गरेको नाफा गत आर्थिक वर्ष २०८२/०८३ को सोही अवधिको तुलनामा १२.२८ प्रतिशतले बढी हो। गत आर्थिक वर्षको साउन र भदौ महिनामा विकास बैंकहरूले एक अर्ब २७ करोड ११ लाख रुपैयाँ खुद नाफा कमाएका थिए ।
चालु आर्थिक गतिविधिमा देखिएको सुस्तता तथा खराब कर्जाको दबाबबीच पनि विकास बैंकहरूको समग्रमा उत्कृष्ट नाफा आर्जन गरेको देखिएको हो।अझै पाँच बैंकको नाफा भने ऋणात्मक नै देखिएको छ। विकास बैंकको नाफामा पहिलो स्थानमा रहेदै आइरहेको मुक्तिनाथले गरिमाले उछनेको छ।
चालू आवको दुई महिनामा गरिमाको नाफा ४.८१ प्रतिशतले बढेर २८ करोड ७८ लाख रुपैयाँ पुगेको हो।यता, मुक्तिनाथको नाफा ३०.५० प्रतिशतले घटेको छ। गत आर्थिक वर्षको दुई महिनामा ३६ करोड १७ लाख रुपैयाँ नाफा कमाएको मुक्तिनाथले चालु आर्थिक वर्षको सोहि अवधिमा भने २५ करोड १३ लाख रुपैयाँमा खुम्चिएको हो।
साउन र भदौमा शाइन रेसुङ्गा डेलभपमेन्ट बैंकको नाफा १८.७२ प्रतिशतले बढेर २० करोड ८४ लाख, कामना सेवा विकास बैंकको ८.३७ प्रतिशतलेबढेर १९ करोड २६ लाख र ज्योति विकास बैंकको ९.४२ प्रतिशतले बढेर १८ करोड ६२ लाख रुपैयाँ पुगेको हो।सर्वाधिक नाफा वृद्धि गर्नेमा महालक्ष्मी विकास बैंक पहिलो स्थानमा रहेको छ।
गत आर्थिक वर्षको तुलनामा कम्पनीको नाफा ७० प्रतिशतले बढेर १८ करोड २७ लाख रुपैयाँ पुगेको छ।सांग्रिला डेभलपमेन्ट बैंकको नाफा ४० प्रतिशतले घटेर ९ करोड ७८ लाख, मितेरी डेभलपमेन्ट बैंकको ८.५४ प्रतिशतले बढेर दुई करोड २२ लाख र ग्रिन डेभलपमेन्ट बैंकको ६४.९० प्रतिशतले बढेर एक करोड ६७ लाख रुपैयाँ पुगेको छ।
राष्ट्रिय स्तरको लुम्बिनी विकास बैंकको नाफा भने निरन्तर ओरालो लागि रहेको छ। ग्रामिण स्तरका विकास बैंकको नाफा लुम्बिनीको नाफा तल झरी रहेको हो।चालू आवको दुई महिनाको तथ्याङ्कलाई हेर्दा बैंकको नाफा ६८.४८ प्रतिशतले घटेर एक करोड १५ लाख रुपैयाँ सीमित भएको हो।
साथै, कर्पोरेट डेभलपमेन्ट बैंकको नाफा ३० लाख र सप्तकोशी डेभलपमेन्ट बैंकको १८ लाख रुपैयाँ रहेको छ। पाँच विकास बैंकको नाफा भने ऋणात्मक रहेको छ। सालपा ६ लाख, नारायणी डेभलपमेन्ट बैंक ३१ लाख, सिन्धु विकास बैंक ७७ लाख, एक्सेल डेभलपमेन्ट बैंक ८६ लाख र कर्णाली डेभलपमेन्ट बैंक एक करोड ५० लाख रुपैयाँ घाटामा रहेको छ।