काठमाडौं। समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले १२ वटा समस्याग्रस्त सहकारीका २३५ जना बचतकर्ताको रकम फिर्ता गरेको छ। समितिका अनुसार पहिलो चरणमा थोरै रकम बचत गरेका बचतकर्तालाई रकम फिर्ता गरिएको हो।
सरकारले समस्याग्रस्त सहकारीबाट ऋण असुली तथा सम्पत्ति व्यवस्थापनका क्रममा प्राप्त भएको रकम नै पीडित बचतकर्तालाई फिर्ता गरिएको जनाएको छ। बचतकर्ताको रकम फिर्ता गर्ने कार्य प्रचलित कानुनी व्यवस्थाअनुसार निरन्तर भइरहेको समितिले स्पष्ट पारेको छ।
पहिलो चरणमा थोरै बचत भएका बचतकर्तालाई प्राथमिकता दिइएको र आगामी दिनमा बचत रकमका आधारमा वर्गीकरण गरेर क्रमशः रकम फिर्ता गरिने समितिले जनाएको छ।
समितिका अनुसार कृषि विकास सहकारीका ४ जना, गोरखा सहकारीका ११ जना, आइडियल यमुना सहकारीका ६ जना र कान्तिपुर सहकारीका ८० जना बचतकर्ताले रकम फिर्ता पाएका छन्। त्यस्तै, नेपाल वित्तीय सहकारीका १२ जना, ओरिएन्टल सहकारीका ३७ जना, शिव शिखर सहकारीका ६२ जना र पशुपति सहकारीका ४ जना बचतकर्ताको रकम फिर्ता गरिएको छ।
यसैगरी, तपाईं हाम्रो सहकारीका १० जना, स्ट्यान्डर्ड सेभिङ सहकारीका ४ जना, लालीगुराँस सहकारीका १३ जना र गौतम श्री सहकारीका १ जना बचतकर्ताले रकम फिर्ता पाएका छन्।
समस्याग्रस्त सहकारीबाट ऋण असुली र सम्पत्ति व्यवस्थापन गरी प्राप्त रकम सम्बन्धित सहकारीका बचतकर्तालाई फिर्ता गर्ने प्रक्रिया निरन्तर अघि बढाइएको समितिले जनाएको छ।