बिहीबार, असोज २९, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • भूकम्पीय जोखिम व्यवस्थापनका लागि विपद् बन्ड जारी गर्न विश्व बैंकसँग सम्झौता

भूकम्पीय जोखिम व्यवस्थापनका लागि विपद् बन्ड जारी गर्न विश्व बैंकसँग सम्झौता

 |  बिहीबार, असोज २९, २०८३

नेपाल समय

नेपाल समय

बिहीबार, असोज २९, २०८३

बैंकक- भूकम्पबाट हुन सक्ने क्षति तथा नोक्सानीको व्यवस्थापनका लागि तत्काल वित्तीय स्रोत जुटाउने उद्देश्यले नेपाल र विश्व बैंक समूहबीच विपद् बन्ड विकास गर्ने सम्बन्धमा साझेदारी घोषणा भएको छ।

यसका लागि नेपाल सरकार र विश्व बैंकअन्तर्गतको पुनर्निर्माण तथा विकासका लागि अन्तर्राष्ट्रिय बैंकबीच कार्यादेश सम्झौतामा हस्ताक्षर भएको हो।

सम्झौताले भूकम्पीय जोखिम सम्बोधन गर्न पुँजी बजारको उपयोग गर्दै आवश्यक वित्तीय स्रोत जुटाउने सम्भावनाको अध्ययन गर्ने बाटो खोलेको छ। सम्झौताअनुसार विश्व बैंक समूहको कोष व्यवस्थापनसम्बन्धी निकायले नेपाल सरकार र पुँजी बजारका लगानीकर्तासँग सहकार्य गरी विपद् बन्डको वित्तीय सम्भाव्यता र यसको सम्भावित संरचनाबारे अध्ययन गर्नेछ। अध्ययनपछि यस्तो बन्ड विकास तथा जारी गर्न सकिने सम्भावनाको मूल्याङ्कन गरिनेछ।

विपद् बन्ड प्राकृतिक प्रकोपबाट उत्पन्न हुने आर्थिक जोखिम व्यवस्थापन गर्न प्रयोग गरिने वित्तीय साधन हो। यस्तो बन्डमार्फत विपद्को जोखिम लगानीकर्तातर्फ हस्तान्तरण गर्न सकिन्छ। तोकिएका विपद् सूचक वा सर्त पूरा भएमा बन्डबाट प्राप्त रकम प्रभावित देशलाई उपलब्ध गराउने व्यवस्था गर्न सकिन्छ।

प्राकृतिक विपद्को उच्च जोखिममा रहेको नेपालले जोखिम न्यूनीकरण, पूर्वतयारी तथा वित्तीय सुरक्षाका उपायलाई एकीकृत गर्दै सम्भावित विपद्को सामना गर्ने क्षमता बढाउन प्रयास गर्दै आएको छ। विपद् बन्डको सम्भावित विकासले विपद्पछि आवश्यक पर्ने वित्तीय स्रोत जुटाउने वैकल्पिक माध्यम उपलब्ध गराउन सक्ने अपेक्षा गरिएको छ।

यो पहल विश्व बैंक समूहको स्थापित विपद् बन्ड कार्यक्रमअन्तर्गत अघि बढाइएको हो। उक्त कार्यक्रमले विभिन्न देशलाई प्राकृतिक विपद्बाट उत्पन्न हुने जोखिम व्यवस्थापन गर्न तथा वित्तीय सुरक्षा सुनिश्चित गर्न अन्तर्राष्ट्रिय पुँजी बजारमा पहुँच स्थापित गर्न सहयोग गर्दै आएको छ।

नेपाल र विश्व बैंकबीच भएको सम्झौता विपद् जोखिम वित्तीय व्यवस्थापनका लागि नयाँ उपायको सम्भाव्यता अध्ययन गर्ने प्रारम्भिक कदम हो। बन्ड जारी हुने, त्यसको संरचना कस्तो हुने र त्यसबाट कति वित्तीय स्रोत जुट्न सक्ने भन्ने विषय भने आगामी अध्ययन तथा मूल्याङ्कनबाट तय हुने बताइएको छ।

प्रकाशित: Oct 15, 2026| 11:31 बिहीबार, असोज २९, २०८३
प्रतिक्रिया दिनुहोस्