शनिबार, कात्तिक २९, २०८२

मोबाइलबाटै खिचेर युवाहरुले बनाए फिचर फिल्म

 |  मंगलबार, वैशाख ४, २०८१

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख ४, २०८१

काठमाडौं- युवाहरुको एक समूहले मोबाइलबाटै खिचेर फिचर फिल्म तयार गरेको छ। आईफोन १४ प्रो म्याक्सबाट खिचेर १ घण्टा ४५ मिनेट लामो फिल्म तयार गरिएको हो।

National life

यो फिल्म वन स्क्वाड फिल्म्सले निर्माण गरेको हो। फिल्मका निर्देशक जेसन लोप्चनका अनुसार फिल्म छायांकन गर्न फोनमा अतिरिक्त लेन्स प्रयोग गरिएको छ तर अन्य कुनै क्यामेरा भने प्रयोग गरिएको छैन।

बजेट अभावका कारण मोबाइलबाटै फिल्म खिच्नुपरेको उनले बताए। लोप्चनले भने, 'मोबाइलबाट पनि राम्रो गुणस्तरको भिडियो खिच्न सकिन्छ। सजिलो, सस्तो र पोर्टेबल भएकोले धेरै फाइदा छ। साथै यसका केही सीमितता पनि छन्। कतिपय कुरा फोनबाट गर्न सकिँदैन। डेप्थ अफ फिल्ड, कलर आदिमा फरक पर्छ। आउटडोर सुटिङमा डाइरेक्ट सनलाइटले पनि समस्या पार्दो रहेछ।'

विदेशमा आईफोनबाटै फिल्म खिच्ने गरिए पनि नेपालमा भने कमर्सियल फिल्म पूरै फोनबाट खिचिएको पहिलो पटक भएको दाबी लोप्चनको छ। 'अ प्लेस अन्डर द सन' नाम फिल्म आगामी जुलाईमा ओटीटी प्लाटफर्ममा रिलिज हुने तय भएको निर्देशक लोप्चनले बताए। उनका अनुसार अमेजन प्राइम भिडियो, एप्पल टिभी, पिकक आदि ओटीटीमा फिल्म रिलिज हुने तय भइसकेको छ।  

क्राइम ड्रामा जनराको यो फिल्ममा तीन जना बाल्यकालका मिल्ने साथी हुन्छन्। धेरै वर्षको ग्यापपछि उनीहरुले रियुनियन पार्टी राखेका हुन्छन्। उनीहरुले त्यहाँ आ-आफ्नो कथा भनिरहेका हुन्छन्। त्यही क्रममा अर्को नयाँ मानिसको प्रवेश हुन्छ र कथाले नयाँ मोड लिन्छ। कथामा थुप्रै ट्विस्ट एन्ड टर्न्स रहेको निर्देशक लोप्चनको भनाइ छ।

Laxmi sunrise bank
kumari

फिल्मका सबै कलाकार नयाँ छन्। फिल्ममा मीन घलान, मीरा गुरुङ, अंशु शर्मा, विप्लप गौली, प्रजन पौडेल, रिदेन श्रेष्ठ र प्रवेश एम्सीको अभिनय रहेको छ। कलाकार र क्रु गरेर १७-१८ जनाको टिम रहेको र तीमध्ये चार-पाँच जना शेफर्ड कलेज अफ मिडिया टेक्नोलोजीका विद्यार्थी रहेको लोप्चनले बताए। उनी पनि शेफर्डकै विद्यार्थी हुन्।

आगामी जेठमा ट्रेलर रिलिज गरेर मार्केटिङमा जाने तयारीमा रहेको टिम फिल्मलाई लिएर आशावादी छ। 'नेपालका वितरक र हलले हाम्रो फिल्ममा रुचि देखाएनन्। ओटीटीमा राम्रो हुने अपेक्षा राखेका छौं। यसको फिडब्याक हेरेर अर्को प्रोजेक्टको तयारीमा लाग्छौं,' निर्देशक लोप्चनले भने।

प्रकाशित: Apr 16, 2024| 13:33 मंगलबार, वैशाख ४, २०८१
प्रतिक्रिया दिनुहोस्