आइतबार, पुस १३, २०८२

अस्पताल भवन अलपत्र छाडेर निर्माण व्यवसायी सम्पर्कविहीन

 |  बिहीबार, चैत २९, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, चैत २९, २०८०

भोजपुर- टेम्केमैयुङ–७ कोटमा निर्माणाधीन अस्पताल भवनकाे काम अलपत्र छाडेर निर्माण व्यवसायी भागेपछि स्थानीय आक्रोशित भएका छन्।

National life

यहाँ विसं २०७८ देखि दुई वर्षभित्र सम्पन्न गर्नेगरी १५ श्ययाको अस्पताल निर्माण थालिएको थियो। तर निर्माण व्यवसायीले मैदान सम्याएर, कम्पाउण्ड र रिटेनिङ वालमात्र लगाएर सम्पर्कविहीन भएपछि स्थानीय आक्रोशित भएका हुन्।

खेती गरिरहेको जग्गा अस्पताल निर्माणका लागि दिएका स्थानीयले काम अलपत्र बनेपछि निर्माण व्यवसाय लाई कारबाहीको माग गरेका छन्। काममा लापरबाही गर्ने निर्माण व्यवसायीलाई कानुनी दायरामा ल्याएर कारबाही गर्नुपर्ने स्थानीयवासी भवानी नेपालले बताए।

“हामीले अस्पताल निर्माणका लागि कमाइरहेको खेतबारी दिएका थियौँ”, उनले भने, “अहिले काम अलपत्र छाडेको छ । यहाँ अस्पताल निर्माण भएपश्चात् सहजता होला भनेर कुनै प्रवाह नगरी सहयोग गरेका हौँ । तर अहिले निर्माण व्यवसायी सम्पर्कविहीन छ । सरकारले निर्माण व्यवसायीलाई कारबाहीको दायरामा ल्याएर काम सञ्चालन गर्न माग गर्दछौँ।”

यहाँ देशविदेशमा रहेका कोटवासी तथा स्थानीयसँग समन्वय गरेर साढे १३ रोपनी जग्गा व्यवस्थापन गरेर अस्पताल निर्माणको काम सुरु भएको स्थानीयवासी योगेन्द्र कटुवालले बताए। स्थानीयसँग रकम संकलन गरेर जग्गा खरिद गरिएको उनको भनाइ छ।

Laxmi sunrise bank
kumari

“अस्पताल निर्माण हुन्छ, सुविधा पाइन्छ भनेर देशविदेशमा रहेका तथा स्थानीयसँग हारगुहार गरेर जग्गा खोज्यौँ”, उनले भने, “अहिले खेती गरिरहेको जग्गा बाँझिएको छ । निर्माण व्यवसायीले निर्माणस्थलमा रहेका सामग्री उठाएर लग्यो । काम अलपत्र छ । यहाँ जसरी पनि अस्पताल निर्माण हुनुपर्छ।”

निर्माण कम्पनीलाई आवश्यक साथ सहयोग गर्दा पनि स्थानीयवासीलाई झुक्याएर सम्पर्कविहीन बनेको वडाध्यक्ष सूर्यप्रसाद नेपालले बताए। निर्माण व्यवसायीका कारण सहयोग गर्ने देशविदेशमा रहेका कोटवासीलाई काम अपलत्र भएका विषयमा जानकारी दिन नसक्ने अवस्था रहेको वडाध्यक्ष नेपालको भनाइ छ।

“यहाँ अस्पताल निर्माण हुने भएपछि हामी कोटवासी हर्षित थियौँ”, वडाध्यक्ष नेपालले भने, “स्थानीय तहकोतर्फबाट हामीले आवश्यक साथ सहयोग दिएका छौँ। निर्माण व्यवसायीले कोटवासीको विश्वासमा घात गरेको अवस्था छ । कामलाई सञ्चालन गराउन सबैले भूमिका खेल्न आवश्यक छ।”

अस्पताल सम्झौताअनुसार २०८० सालको असार महिनामा सम्पन्न गर्नेगरी भूमि हिमालयन जेभीले निर्माणको जिम्मा लिएको थियो। सम्झौता अवधि सकिँदा करिब १० प्रतिशत काम गरेर निर्माण व्यवसायी विवश कार्की सम्पर्कविहीन बनेको गाउँपालिकाले जनाएको छ। काममा लापरबाही गर्ने निर्माण व्यवसायीलाई कानुनी दायरामा ल्याएर आवश्यक प्रक्रिया अघि बढाउने टेम्केमैयुङ गाउँपालिका उपाध्यक्ष रमादेवी राईले बताइन्।

“गाउँपालिकाकोतर्फबाट अस्पताललाई गुणस्तरीय ढङ्गले समयमा सम्पन्न गराउन भूमिका खेलिरहेका छौँ”, उपाध्यक्ष राईले भनिन्, “कार्यपालिकाबाट निर्णय गरेर कामलाई चाँडो गर्न पत्रचार गरेका छौँ । तर अहिले निर्माण व्यवसायी सम्पर्कविहीन रहेको अवस्था छ। आवश्यक प्रक्रिया पु¥याएर कानुनी प्रक्रियाअनुसार कारबाही गर्ने तयारी गरिरहेका छौँ।”

अस्पताल भवन समयमा सम्पन्न गराउन पहल गरेको भए पनि निर्माण व्यवसायी म्याद थप गर्नसमेत नआएको गाउँपालिका अध्यक्ष सरोज बस्नेतले बताए। पछिल्लो समयमा आएर निर्माण व्यवसायी सम्पर्कविहीन बनेको उनको भनाइ छ। गाउँपालिकाले आवश्यक सहयोग गर्दा पनि निर्माण व्यवसायीले काम अलपत्र पारेको अध्यक्ष बस्नेतले जानकारी दिए।

“निर्माण व्यवसायीले अस्पताल निर्माणको काममा चासो नदिएको अवस्था छ”, अध्यक्ष बस्नेतले भने “गत असारमा म्याद सकिएको छ । हामीले म्याद थपका लागि पत्रचार गर्दा गरेका छौँ । अहिले सम्पर्कविहीन बनेको अवस्था छ । यो अस्पतालका विषयमा हामी गम्भीर भएर लागेका छौँ।”

अस्पताल निर्माणको जिम्मा लिएका निर्माण व्यवसायी विवश कार्कीका विषयमा जिल्ला प्रहरी कार्यालयमा ठगी तथा चेक बाउन्सको उजुरी परेको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रमुख सुदीपराज पाठकले जानकारी दिए।

अस्पताल निर्माणको कूल लागत भ्याटबाहेक रु १० करोड १३ लाख ८३ हजार रहेको छ। हालसम्म निर्माण कम्पनीले रु ९१ लाख भुक्तानी लगेको गाउँपालिकाले जनाएको छ । यहाँ अस्पताल बनेपछि टेम्केमैयुङको वडा नं ६,७, ५ ८ र ९ का स्थानीय लाभान्वित हुनेछन्।

प्रकाशित: Apr 11, 2024| 19:01 बिहीबार, चैत २९, २०८०
प्रतिक्रिया दिनुहोस्