आइतबार, पुस १३, २०८२

पहिरोका कारण रित्तिँदै म्याग्दीको चौरखानी

 |  बिहीबार, चैत २९, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, चैत २९, २०८०

म्याग्दी- म्याग्दीको रघुगंगा गाउँपालिका-८ चौरखानी गाउँ रित्तिन थालेको छ। भिरालो पाखामा रहेको चौरखानी गाउँको फेदबाट शिरसम्मको जमिन पहिराले छियाछिया बनाएपछि स्थानीयवासी थातथलो छाडेर अन्यत्र हिँडेका हुन्।

National life

चौरखानीका ५३ मध्ये हाल २५ घरपरिवारको मात्र बसोबास रहेको टोल सुधार समितिका संयोजक प्रेम छन्त्यालले बताए। 'विसं २०६३ मा चौरखानीका ५३ वटै घरमा बसोबास थियो', उनले भने, 'शिक्षा, स्वास्थ्य, रोजगारी र अवसरको खोजीमा गाउँ छाडेर जाने क्रमलाई पहिरोको समस्याले झन् बढायो।'

वडाध्यक्ष गमान छन्त्यालका अनुसार पछिल्लो तीन वर्षयता पहिराले १८ वटा घर भत्किएका छन्। आम्दानीको स्रोत हुनेले बजार र अन्य ठाउँमा जग्गा किनेर घर बनाई बसाइँ सरेका छन्। आधाले घर छाडेर बेनी, पोखरा, काठमाडौँलगायत ठाउँमा गएर बसेका हुन्। घर भए पनि बसोबास छैन। बर्खामा गोठमा गएर बस्ने गरेका छन्।

गत वर्ष सात परिवारले चौरखानीको डाँडामा घर सारेका थिए। यस वर्ष थप छवटा घर पुनःनिर्माण भइरहेको छ। गाउँपालिकाले पहिराबाट घर भत्किएकालाई पुनःनिर्माणका लागि पाँच लाख रूपैयाँका दरले अनुदान उपलब्ध गराएको उनले बताए।

'पहिराले हजारौँ रोपनी खेतीयोग्य जग्गा नष्ट भएको छ', उनले भने, 'रोकथामको प्रयास सफल नभएपछि गाउँ छाडेर अन्यत्र बसाइँ सरेर जाने क्रम बढेको हो।'

Laxmi sunrise bank
kumari

यहाँ छन्त्याल र दलित समुदायको बसोबास छ। हाल दलित समुदायको एउटा मात्र घर छ। भूगर्भविद्को टोलीले चौरखानीमा बसोबासका लागि जोखिमयुक्त भएकाले बस्ती सार्न सिफारिस गरेको थियो। गाउँको बीचमा पहिराले ठाडो चिरा बनाएको छ।

खेतबारी र जंगल चिराचिरा परेको छ। पहिराले उठिबास लगाएपछि बसाइँसराइ गरेको चौरखानीका रेश विकले बताए। उनको परिवार हाल गाउँपालिकाको केन्द्र मौवाफाँटमा बसोबास गर्छन्।

दुई किलोमिटर तल रघुगंगा नदीको किनारबाट सुरु भएको पहिरो चौरखानीको शिरमा रहेको पहाडको फेदीमा पुगेको स्थानीय रामप्रसाद छन्त्यालले बताए। बर्सेनि ग्यावियन पर्खाल र भल व्यवस्थापन गरे पनि पहिरो रोकिएको छैन।

पहिरो रोकथामको प्रयास सफल नभएकाले गाउँलाई नै अन्यत्र स्थानान्तरण गर्न जग्गाको खोजी गरिरहेको रघुगंगा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले बताए।

प्रकाशित: Apr 11, 2024| 07:01 बिहीबार, चैत २९, २०८०
प्रतिक्रिया दिनुहोस्