काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टी सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सम्पत्ति छानबिन गर्न प्रस्ताव गरेका छन्।
बुधबार पशुपति मित्र मावि चाबहिलको हिरक महोत्सवलाई सम्बोधन गर्दै उनले २०४६ सालको राजनीतिक परिवर्तनपश्चात् पार्टीको नेतृत्वमा बसेका, पूर्वप्रधानमन्त्री तथा आफूजस्ता मन्त्रीको पनि सम्पत्ति छानबिन गर्नुपर्ने बताए।
उनले भने, “कांग्रेस सभापति, एमाले अध्यक्ष र माओवादी अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री, भूतपूर्व प्रधानमन्त्री हामी जस्ता मन्त्री भएका मान्छे सबैको सम्पत्ति छानबिन गरौं। जति पनि ठूलठूला काण्ड प्रकरणहरू नेपालमा भए त्यो सबै कुराको छानबिन गरौं जिम्मेवार मानिसहरूलाई दण्ड पाउनुपर्छ भन्ने डर सिर्जना गरोस्।”
उनले नागरिकहरूलाई राज्यप्रति भर सिर्जना गर्न र गलत गर्नेलाई डर सिर्जना गर्न पनि यो अपरिहार्य भएको बताए। सार्वजनिक सम्पत्ति अपचलन भएको सहकारी प्रकरण चलेको भन्दै उनले भने, “अस्तिसम्म यही कपनमा सहकारी विज्ञ भनेर कार्यक्रममा आउनुभएको उप्रेतीजी साथी जसको भाषण हामीले सुनेका थियौं। दुई दिनअघि पत्रिकामा आउँदा आठ अर्ब खाएको रहेछ। यस्ता मान्छे गाउँ गाउँ डुलिरहेका छन्।”
यस्ता अपलचन गर्ने व्यक्तिलाई हेर्ने निकाय बनाएको भए पनि कतैबाट पनि कानुनी फन्दामा नपरेको भन्दै उनले थपे, “जतिसुकै शक्तिशाली होस् कांग्रेस होस् माओवादी होस् एमाले होस्, नयाँ होस् पुरानो होस्, प्रधानमन्त्री होस् भूतपूर्व होस् वा हुनेवाला होस् ! जो जो जतिसुकै शक्तिशाली होस् । गलत गर्नेलाई कारबाही गर्नुपर्छ ।”