आइतबार, पुस १३, २०८२

इजरायली राजदूतले भने- विपिन जोशीको खोजी अहिले पनि जारी छ

 |  मंगलबार, चैत २७, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, चैत २७, २०८०

राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालसँग इजरायली राजदूत हनान गोदरले शिष्टाचार भेट गरेका छन्। सिंहदरबारस्थित अध्यक्ष दाहालको कार्यकक्षमा भएको भेटमा दुई देशबीचको कूटनीतिक सम्बन्ध र आपसी सहकार्यका विषयमा कुराकानी भएको थियो।

National life

भेटका अवसरमा अध्यक्ष दाहालले नेपाल–इजरायल कूटनीतिक सम्बन्ध स्थापनाको ६० वर्ष पुगिसकेको चर्चा गर्दै आगामी दिनमा पनि दुई देशबीचको सम्बन्ध थप मजबुत र घनिष्ट हुने विश्वास व्यक्त गरे।

नेपाल शान्तिको पक्षधर राष्ट्र भएको उल्लेख गर्दै अध्यक्ष दाहालले भने, ‘हामी सधैँ मध्यपूर्वमा शान्ति, अमन चयन र स्थिरताको पक्षमा छौँ, संयुक्त राष्ट्रसङ्घलगायतका बहुपक्षीय मञ्चमा नेपाल र इजरायलबीच हुने गरेका आपसी सहयोगले दुई देशको सम्बन्ध थप मजबुत बनाएको छ।’

लामो द्वन्द्वपछि नेपालमा शान्ति प्रक्रिया टुङ्गोमा पुग्न लागेको उल्लेख गर्दै अध्यक्ष दाहालले नेपाल अब आर्थिक समृद्धिको बाटोमा लागेको र त्यसका लागि इजरायल सरकारको महत्त्वपूर्ण सहयोग आवश्यक रहेको बताए।

‘अर्न एण्ड लर्न’ कार्यक्रमअन्तर्गत इजरायल पुगेका नेपाली नागरिकमाथि भएको घटनाप्रति दुःख व्यक्त गर्दै अध्यक्ष दाहालले हालसम्म बेपत्ता भएका नेपाली विद्यार्थी विपिन जोशीको खोजीका लागि तीव्र पहल गरिदिन आग्रह गरे। उनले अहिले पनि करिब चार हजार नेपाली श्रमिक इजरायलमा रहेको उल्लेख गर्दै उनीहरुको सुरक्षा र रोजगारीका विषयमा चासो व्यक्त गरे।

Laxmi sunrise bank
kumari

इजरायलबाट नेपालमा उल्लेख्य पर्यटक आउने गरेको चर्चा गर्दै अध्यक्ष दाहालले आगामी दिनमा अझ धेरै इजरायली नागरिकलाई नेपाल भ्रमणका लागि पहल गरिदिन र नेपालको पर्यटन प्रवर्द्धन गर्नमा योगदान गरिदिन आग्रहसमेत गरे।

सो अवसरमा इजरायली राजदूत गोदारले इजरायल र नेपालको सम्बन्ध निकै घनिष्ट रहेको चर्चा गर्दै नेपालको कला, संस्कृति, परम्परा र पर्यटकीयस्थलका हिसाबले धनी रहेको सुनाए। आफूले लामो समय नेपालमा रहेर काम गर्ने मौका पाएको उल्लेख गर्दै राजदूत गोदारले सगरमाथा, लुम्बिनी, चितवन, पोखरा, रारालगायतका नेपालका थुप्रै पर्यटकीय गन्तव्यले विश्वमै नेपालको पहिचान दिलाएको बताए।

‘लर्न एण्ड अर्न’ कार्यक्रम आफूले नै पहल गरेर सुरु गरेको उल्लेख गर्दै राजदूत गोदारले उक्त कार्यक्रमबाट थुप्रै नेपालीले इजरायलबाट सीप सिकेर नेपालमा राम्रो काम गरेको बताए।

इजरायलमा मारिएका नेपाली विद्यार्थीका परिवारलाई सानै भए पनि सहयोग गर्ने इजरायल सरकारले प्रतिबद्धता व्यक्त गरेको पनि उनले उल्लेख गरे। विपिन जोशीको खोजीका लागि अहिले पनि प्रयास भइरहेको राजदूत गोदारले जानकारी दिए।

प्रकाशित: Apr 09, 2024| 19:28 मंगलबार, चैत २७, २०८०
प्रतिक्रिया दिनुहोस्