काठमाडौं- गत वैशाखदेखि यही चैतको तेस्रो सातासम्ममा आगलागीबाट नेपालमा एक सय दुई जनाको मृत्यु भएको छ।
देशका विभिन्न क्षेत्रमा यो अवधिमा तीन हजार सात सय ९५ भन्दा बढी आगलागीका घटना भएकामा ती घटनामा एक सय दुईजनाको मृत्यु भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ।
आगलागीबाट सो अवधिमा चार हजार सात सय २५ परिवार प्रभावित भएका छन्। आगलागीबाट रु दुई अर्ब ३३ करोड बढीको क्षति भएको प्राधिकरणका प्रवक्ता गोमादेवी चेम्जोङले जानकारी दिनुभयो। उहाँले बीचमा पानी परेका कारण आगलागीका घटना घटे पनि पुनः फैलिन थालेकाले सचेत हुन अनुरोध गर्नुभएको छ।
यस वर्ष जाजरकोट भूकम्पबाहेक विपद्मा परेर मृत्यु हुने सबैभन्दा बढी आगलागीबाट रहेका छन्। सोही अवधिमा चट्याङबाट ४३ जनाको मृत्यु भएको छ। सर्पदंशबाट २०, हिमपहिरामा परेर १२, जनावरको आक्रमणबाट ४३, वन डढेलोबाट पाँच जनाको मृत्यु भएको प्राधिकरणको अभिलेखमा उल्लेख छ। वैशाखयताका विपद्जन्य घटनामा चार सय ७७ जनाको मृत्यु भइसकेको प्राधिकरणले जनाएको छ।