आइतबार, पुस १३, २०८२

६ वर्षमा पनि बनेन बाढीले बगाएको सिधनियाघाट सडक

 |  मंगलबार, चैत २७, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, चैत २७, २०८०

राँझा- बाँकेको नेपालगञ्ज-बघौडा हुलाकी सडकअन्तर्गत राप्ती नदीको सिधनियाघाट खण्डमा सडक नबन्दा सर्वसाधारणले सास्ती व्यहोर्दै आएका छन्।

National life

राप्ती नदीमा आएको बाढीले ६ वर्षअघि २०७४ सालमा बगाएको सडक हालसम्म बन्न सकेको छैन। राप्ती नदीको पुल पार गरेपछि करिब तीन किलोमिटर सडक अहिले हिउँदमा धुलाम्मे र वर्षाका बेला हिलाम्मे हुने गरेको छ।

हुलाकी सडकको अन्य सबै भाग कालोपत्र भए पनि राप्ती नदीको बगरक्षेत्रमा सडक नबन्दा नरैनापुर र राप्ती सोनारी गाउँपालिकावासीलाई सदरमुकाम नेपालगञ्ज आवागमनमा अहिले सास्ती हुँदै आएको राप्ती सोनारी-६ का वडाध्यक्ष लवराज खरेलले बताए।

'यो सडक निर्माणका लागि पटक पटक पहल गर्दै आए पनि हुन सकेको छैन, बर्सातमा हिलाम्मे र हिउँदमा धुलाम्मे भएर आवागमन गर्न बाध्य भएका छौँ', वडाध्यक्ष खरेलले भने, 'नयाँ बन्न लागेको पुलको निर्माण कम्पनीले पुरानो चलन चल्तीको बाटो बन्द गरेका कारण अहिले थप समस्या भएको छ।'

उनले पुल निर्माण नहुँदासम्म वैकल्पिक सडक प्रयोग गर्न दिन निर्माण कम्पनीलाई आग्रह गरेका छन् विगतमा राप्ती नदीले बगाएको सडकमा अहिले पुल निर्माणको काम भइरहेको छ। पुल निर्माणका क्रममा सडक आवागमनमा अवरोध नगरी सहज  बनाउनुपर्ने वडाध्यक्ष खरेलको भनाइ छ।

Laxmi sunrise bank
kumari

सडक नबन्दा यतिबेला सिधनियाघाटमा दुईपाङ्ग्रे सवारी साधन सञ्चालनमा कठिनाइ हुने गरेको छ। नदी किनारको बालुवाको धुलोमा दैनिकजसो मोटरसाइकल पल्टिएर दुर्घटना हुने गरेको नरैनापुरका अगुवा युवा सोहनलाल यादवले बताए।

राप्ती नदीको सिधनियाघाटस्थित हुलाकी राजमार्गमा सात सय मिटर लामो पुल निर्माण सुरु गरिएको छ। नेपालगञ्ज-बघौडा हुलाकी सडकको सिधनियाघाटमा हाल प्रयोगमा रहेको पुल निकै साँघुरो तथा सानो समेत रहेकाले वर्षा र बाढीको समयमा आवागमन ठप्प हुने तथा अन्य समयमा समेत आवागमनमा समस्या हुने भएकाले सात सय मिटर लामो र ११ मिटर चौडाइ भएको नयाँ पुल निर्माण सुरु गरिएको हो।

पुल निर्माण कम्पनीका इन्जिनियर राजेश पटेलले भत्किएको सडकमा आवागमनमा कठिनाइ भएकाले उक्त सडकलाई ग्राभेल गरी सहज बनाउनका लागि यथाशीघ्र काम थालिने बताए। सो सडकबाट बालुवा, मोरङ तथा गिट्टी बोक्ने टिप्पर दैनिक सयौँको सङ्ख्यामा ओहोरदोहोर गर्दा धुलो उडेर सर्वसाधारणलाई आवागमनमा थप समस्या भएकाले उक्त सडकमा पानी हाल्ने र ग्राभेल गरी समस्यालाई न्यूनीकरण गर्नेगरी यथाशक्य छिटो काम सुरु गर्ने उनको भनाइ छ।

राप्ती नदीमा हरेक वर्ष आउने गरेको बाढीले पटक-पटक सडक तथा कल्भर्ट बगाउन थालेपछि ५३ महिनामा निर्माण सक्नेगरी लुम्बिनी-रौताहा बन्दना भगवती जेभीले पुल निर्माण सुरु गरेको छ। विसं २०८४ असार मसान्तमा सम्पन्न गर्ने गरी २०७९ माघमा सम्झौता भएको निर्माण कम्पनीका इन्जिनियर पटेलले बताए।

उनका अनुसार अहिले निर्माण भइरहेको पुल सात सय मिटर लामो, ११ मिटर चौडा रहने तथा दुवैतर्फ एक दशमलव ७५ मिटर फुटपाथ निर्माण गरिने छ। भ्याटसहित एक अर्ब २० करोड रूपैयाँमा निर्माण भइरहेको उक्त पुलको पाइलिङको काम हाल सुरु गरिएको जनाउँदै पाइलिङ र जाली बुन्ने काम सँगसँगै भइरहेको इन्जिनियर पटेलले बताए। 

प्रकाशित: Apr 09, 2024| 22:01 मंगलबार, चैत २७, २०८०
प्रतिक्रिया दिनुहोस्