बिहीबार, मंसिर २०, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

नाति पुस्तासँग रिपोर्टिङमा दौडिरहेका पत्रकार

 |  बुधबार, चैत २८, २०८०
nespernesper

चन्द्रकला भण्डारी

चन्द्रकला भण्डारी

बुधबार, चैत २८, २०८०

ntc landingntc landing

काम गर्ने जोस र इच्छाशक्ति हुनेलाई उमेरले छेक्दैन। ‘बुढ्यौली लाग्यो भन्ने त अल्छी गर्नेहरुको बहाना मात्र हो,’ भद्रपुर नगरपालिका–६ भानुनगरका ८० वर्षीय गोविन्दचन्द छेत्रीलाई सक्रिय पत्रकारिता गर्न उमेर बाधक भएको छैन।

himalayan bank box

मोटरसाइकल हाँकेर झापाको उत्तरी भेग बाहुनडाँगीदेखि दक्षिणको गौरीगञ्जसम्म कलम, कापी र मोबाइल बोकेर फिल्ड रिपोर्टिङमा हिँड्ने छेत्री भन्छन्, ‘एक दिन फिल्ड नगई घरमा बस्नुपर्‍यो भने दिक्क लाग्छ। स्थलगत रिपोर्टिङमा गएपछि नयाँ समाचार भेटिन्छ। नयाँ मानिस र परिवेशसँग घुलमिल भइन्छ। त्यसमै आनन्द लाग्छ।’

उनी अहिले पनि काठमाडौंबाट प्रकाशित ‘द हिमालयन टाइम्स’ अङ्ग्रेजी दैनिक र झापाबाट प्रकाशित ‘नयाँ सन्दर्भ साप्ताहिक’ पत्रिकामा उनी नियमित समाचार लेखन र सम्पादन गरिरहेका  छन्। ८० वर्षे पाको उमेरमा यसरी मोटरसाइकल हाँकेर गाउँ गाउँ पुग्ने झापाका अग्रज पत्रकार छेत्रीको जोस, जाँगर र पत्रकारिताप्रतिको लगाव उनको नाति पुस्ताका पत्रकारहरुका लागि प्रेरणादायी बनेको छ। कुनै ठूलो घटना भयो या कुनै सभाको आयोजना भएको थाहा पाउने बित्तिकै उनी समाचारका लागि घटनास्थलमै पुग्न रुचाउँछन्। नयाँ पुस्ताका पत्रकारहरु फिल्डमा जाँदा छेत्रीलाई पछ्याउन रुचाउँछन्। सक्रिय पत्रकारिता जीवनको ५५ वर्षे अनुभवहरु सुन्न र जान्न समेत नयाँ पुस्ताका पत्रकारहरु उनीसँगै रिपोर्टिङमा जाने गर्छन्। 

पञ्चायतदेखि गणतन्त्रसम्मको अनुभव
२००१ जेठ २ गते धनकुटामा जन्मिएका छेत्री बुबा टेकबहादुर थापा र आमा कृष्णमाया थापासँगै १८ वर्षको किशोर उमेरमै भद्रपुर बसाइँ आएका थिए। भद्रपुरको तत्कालीन मेची इन्टरकलेज (हाल मेची बहुमुखी क्याम्पस) मा स्नातक तहसम्म अध्ययन गरेका उनले २०२५ सालमा भद्रपुरबाट प्रकाशित ‘युवक साप्ताहिक’बाट पत्रकारिता प्रारम्भ गरेका थिए। 

उनले पञ्चायती व्यवस्थाको निरङ्कुश शासनकालदेखि प्रजातन्त्र र गणतन्त्रकालीन शासन व्यवस्थाको पत्रकारिताको अनुभव हासिल गरे। ‘निर्दलीय पञ्चायती व्यवस्थामा राज्य नियन्त्रित पत्रकारिता थियो,’ उनले उसबेलाको पत्रकारिता अनुभव सुनाउँदै भने, ‘राजपरिवार र सत्ताधारी पञ्चहरुका बारेमा नकारात्मक समाचार लेख्यो भने सिधै मुद्दा लगाएर जेलमा कोचिदिन्थे। तैपनि कतिपय पत्रकारहरुले निडर भएर सत्ताको विरोध र प्रतिबन्धित राजनीतिक दलहरुको समर्थनमा समाचार र विचार सम्प्रेषण गर्थे।’

vianet

अहिले प्रविधिमा आएको क्रान्तिले पत्रकारिता गर्नका लागि सहज माध्यम र उपकरणहरु उपलब्ध भएको उनको बुझाइ छ। अहिलेजस्तो हातहातमा मोबाइल, कम्प्युटर र इन्टरनेट नभएको जमानामा हातैले लेखेका समाचारलाई चिट्ठीमा हालेर हुलाकबाट काठमाडौंमा रहेको पत्रिकाको कार्यालयमा पठाउने गरेको उनको कतिपय अनुभूति सुन्दा धेरैलाई दन्त्यकथा जस्तो लाग्छ। ‘समाचार लेखेर हुलाकबाट पत्रिकाको कार्यालयमा पठाउनु पर्थ्यो,’ उनले सुनाए, ‘हप्तामा एउटा बार पत्रिका प्रकाशित हुन्थ्यो। हुलाकबाट पठाउँदा ढिलो हुन्छ भन्ने लाग्यो भने चन्द्रगढीमा आकाशवाणी (आवा) को अफिसमा गएर छोटो सांकेतिक खबर पत्रिकाका सम्पादकलाई पठाउँथ्यौं।’

छेत्रीले पत्रकारिता गरेको सुरुका दुई दशकसम्म आम नेपालीमा रेडियो र टिभीको पहुँच न्यून थियो। सडकहरु बनेका थिएनन्। बनेका सडकमा पनि पुल थिएनन्। यातायातका साधन नहुँदा दिनभरि हिँडेर फिल्ड रिपोर्टिङ गर्नुपरेको उनले बताए। स्थानीय पत्रपत्रिका र पत्रकारहरुको सङ्ख्या पनि थोरै थियो। 

झापामा पत्रकारिताको पहिलो अभ्यास गर्ने ऐतिहासिक व्यक्ति स्व श्यामकृष्ण उपाध्याय थिए। उनले २०१० सालमा पहिलो साप्ताहिक पत्रिका ‘केटो’ र २०२१ सालमा दोस्रो पत्रिका ‘युवक’ प्रकाशित गरेका थिए। पत्रकार छेत्रीले स्व श्यामकृष्ण उपाध्यायलाई गुरु मानेर ‘युवक’बाट पत्रकारिता थालनी गरे। उपाध्यायले २०२७ सालदेखि ‘आलोक’ नामक अर्को साप्ताहिक पत्रिकाको प्रकाशन सुरु गरेका थिए। ‘आलोक’मा छेत्री लामो समय कार्यरत भए। 

पञ्चायतकालमा भद्रपुर झापाको प्रशासनिक र राजनीतिक सदरमुकाम मात्र नभएर पत्रकारिता र साहित्यको समेत केन्द्रविन्दु थियो। अधिकांश पत्रपत्रिका भद्रपुरबाटै प्रकाशित हुन्थे। २०३० सालमा भद्रपुरबाट चुडामणि रेग्मीले ‘युगज्ञान’ नामक साप्ताहिक पत्रिका सुरु गरे तर रेग्मी मेची क्याम्पसको प्राध्यापक समेत रहेको हुँदा प्रशासनले उनलाई पत्रिकाको सम्पादक बन्न विभिन्न बाधा–व्यवधान खडा गर्‍यो। त्यहीबेला छेत्रीले ‘युगज्ञान’को सम्पादक बनेर पत्रकारितालाई अघि बढाए। 

उनले पञ्चायतकालीन काठमाडौंको ‘नयाँ सन्देश’, ‘जनमञ्च’, ‘विमर्श’लगायत लोकप्रिय र प्रजातान्त्रिक धारका पत्रपत्रिकामा समाचारदाता बनेर काम गरेका थिए। निर्दलीय कालका नरोकिएको उनको पत्रकारिता यात्रा २०४६ सालमा प्रजातन्त्र बहालीपछि झन् उर्वर बनेर अघि बढ्यो। २०४९ देखि २०५२ सालसम्म गोरखापत्र दैनिकमा झापा समाचारदाता बनेका उनले त्यसपछि गृहजिल्लामै नयाँ पत्रपत्रिका स्थापना गरेर नेतृत्व गरे।

२०५२ सालमा उनकै सम्पादकत्वमा ‘पूर्वाञ्चल दैनिक’को प्रकाशन आरम्भ भयो। विर्तामोडबाट प्रकाशित ‘अर्जुनधारा दैनिक’को उनी संस्थापक प्रधान सम्पादक थिए। भद्रपुरको पहिलो रेडियो ‘नागरिक एफएम’को उनी संस्थापक प्रबन्ध सम्पादक थिए। उनले राजधानीबाट प्रकाशित ‘अन्नपूर्ण पोष्ट’को समेत झापा समाचारदाता भएर कार्य गरे। हाल भद्रपुरबाट उनकै प्रधान सम्पादकत्वमा ‘नयाँ सन्दर्भ साप्ताहिक’को नियमित प्रकाशन भइरहेको छ। स्थानीय पत्रिकासँगै उनी हाल काठमाडौंको अङ्ग्रेजी दैनिक ‘द हिमालयन टाइम्स’मा कार्यरत छन्।

पत्रकारिताका अथक योद्धा
समाजको ऐनामात्र नभएर पत्रकारिताले समाज रुपान्तरणको माध्यमका रुपमा पहिचान बनाएको छ। पत्रकारिता लोकतन्त्रको मानक भए तापनि विभेदकारी बन्न नहुने उनको दृढ धारणा छ। पञ्चायतकालमा सत्ता पक्षधरताले प्राथमिकता पाएजस्तै अहिले राजनीतिक दलहरुको पक्षधरताले गर्दा पत्रकारिता जनमुखी बन्न नसकिरहेको उनको भनाइ छ।

नेपालका पुराना पत्रकारहरु हरिहर विरही, किशोर नेपाल, धर्मेन्द्र झा, शिवबहादुर कार्की, रमेशनाथ पाण्डे लगायतको समकक्षी पत्रकार गोविन्दचन्द छेत्रीले २०३१ सालमा मेची अञ्चल पत्रकार संघको पहिलो सभापति बनेर पत्रकारिता क्षेत्रको नेतृत्वदायी भूमिका निर्वाह गरे। उनी २०४९ सालमा नेपाल पत्रकार महासंघ झापाको एक कार्यकाल अध्यक्ष, २०६१ देखि २०६७ सम्म नेपाल प्रेस युनियन झापाको दुई कार्यकाल सभापति, २०६५ देखि २०६७ सम्म नेपाल पत्रकार महासंघको केन्द्रीय सल्लाहकार र २०७३ सालमा प्रेस क्लब भद्रपुरको अध्यक्ष बने।

पञ्चायतकालमा प्रजातन्त्र बहालीका लागि पत्रकारिताको माध्यमबाट भूमिका निर्वाह गरेका छेत्रीले जनप्रतिनिधि र शिक्षकका रुपमा पनि सेवा गरे। २०३८ सालमा भएको नगर निर्वाचनमा उनी प्रजातन्त्र पक्षीय उम्मेदवार बनेर भद्रपुर नगरपञ्चायतको उपप्रधानपञ्च निर्वाचित भएका थिए। ‘जनप्रतिनिधि र शिक्षक भएर काम गर्दा पनि मैले पत्रकारिता पेसालाई भने अक्षुण्ण राखें,’ उनले भने, ‘२०३९ सालमा म कार्यवाहक प्रधानपञ्च बनेको थिएँ। त्यहीबेला बिपी कोइरालाको निधनको खबर आयो। नगर पञ्चायतमा केही सदस्यको विमति हुँदाहुँदै मैले बिपीको निधनमा शोक व्यक्त गर्न एक दिन नगरपालिका बिदा गर्ने घोषणा गरें। धेरैले मेरो यो निर्णयलाई अविस्मरणीय मानेका छन्।’

पत्रकारिताले परिवारको गर्जो टार्दैन भन्ने बुझ्दा बुझ्दै पनि उनले पेसाबाट कहिल्यै पलायन हुने सोचेनन्। बरु अरू पेसा समेत गरेर पत्रकारितालाई धानिरहे। २०२१ देखि २०२८ सम्म उनी भद्रपुरको शारदा माध्यमिक विद्यालयमा शिक्षक थिए। राजनीति र शिक्षण पेसामा प्रशस्त अवसर हुँदाहुँदै पनि उनले पत्रकारितालाई नै आजीवन पेसा बनाइरहेका छन्।

पत्रकारितामा पुर्याएको योगदानको कदरस्वरुप संघसंस्थाहरुबाट उनलाई विभिन्न पुरस्कार र सम्मान प्रदान गरिएको छ। त्यसो त पत्रकारिताकै कारण सत्ताधारीहरुले उनलाई हिरासतमा राखेका छन् भने मुद्दा लगाएका छन्। ‘२०२५ सालतिर झापामा एसपी शैलेन्द्र काण्ड मच्चियो। भद्रपुरमा सरकारविरोधी जनप्रदर्शन चर्कियो,’ उनले पुरानो घटना सम्झँदै भने, ‘अञ्चलाधीश मनमोहन मिश्रको आदेशले मलाई पक्राउ गरियो। अञ्चलाधीश र जिल्ला प्रहरी कार्यालयमा बयान दिनुपर्‍यो। त्यसबेला पञ्चायतको विरोध गरेको आरोपमा सिधै जेल पठाउने चलन थियो।’

युगज्ञान साप्ताहिकको सम्पादक रहेको बेला ‘जिल्ला पञ्चायत सदस्य मोहनलाल अग्रवाल फरार’ भएको भन्ने समाचार प्रशासनले झुटो जानकारी दिएर प्रकाशित गर्न लगाएको थियो। त्यसको खण्डन छाप्दा अञ्चलाधीशले झुटो मुद्दा लगाएर उनलाई एक महिनासम्म तारिख धाउन बाध्य बनाए। २०६२/६३ सालको दोस्रो जनआन्दोलनका बेला सत्ता हत्याउने माघ १९ को शाही कदमको विरोधमा नेपाल पत्रकार महासंघ झापाको आयोजनामा चन्द्रगढीमा प्रदर्शन गर्दा उनीसमेत दर्जनौं पत्रकारलाई तत्कालीन शाही सरकारले पक्राउ परेर एक दिन हिरासतमा राखेको नेपाल पत्रकार महासंघका पूर्वकेन्द्रीय सदस्य मोहन काजीले बताए।

छेत्रीले कोशी प्रदेश पत्रकारिता पुरस्कार, श्यामकृष्ण स्मृति पत्रकारिता पुरस्कार, एसएल शर्मा स्मृति पत्रकारिता पुरस्कार, ओमसाई पाथीभरा स्वास्थ्य पत्रकारिता पुरस्कार, आर्थिक पत्रकारिता पुरस्कार, भद्रपुर नगर पत्रकारिता पुरस्कार, मोतिराम पत्रकारिता पुरस्कारलगायत दुई दर्जनभन्दा बढी पुरस्कार र सम्मान प्राप्त गरिसकेका छन्।   -रासस

प्रकाशित: Apr 10, 2024| 06:01 बुधबार, चैत २८, २०८०
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अपांगता अब सामाजिक मुद्दा

अपांगता अब सामाजिक मुद्दा

कुनै दिवस मनाउने कुरा दिवसमा मात्र सीमित हुनुहुन्न। यसभन्दा अगाडि उठान गरिएका अपांगताका सवालको व्यवस्थापन सम्बोधनको अवस्था कस्तो छ, त्यसमा समीक्षा हुनु जरुरी छ।
नेपालमा पनि छ स्की खेलको सम्भावना

नेपालमा पनि छ स्की खेलको सम्भावना

हिमालै हिमालको देशको रूपले परिचित नेपालका डाँडाकाँडामा पर्ने हिउँले स्की खेललाई सम्भावना प्रस्टाउँछ।
सख्खर जस्तै गुलियो व्यापार

सख्खर जस्तै गुलियो व्यापार

खेती किसानी मुख्य पेसा भए पनि मौसमी पेसाको रुपमा कोल क्रसर चलाउने गरेको उनी बताउँछन्। तीनदेखि चार महिनाको बीचमा हुने यस पेसाबाट वर्षेनी सख्खर बेचेर...
धरहराबाट उपत्यका नियाल्ने रहर

धरहराबाट उपत्यका नियाल्ने रहर

आइतबारदेखि नै धरहरा व्यवस्थित रूपमा सशुल्क सञ्चालन गरिएको छ। धरहरा चढ्नका लागि प्रतिव्यक्ति दुई सय रूपैयाँ शुल्क तोकिएको छ।