एजेन्सी- यसै सिजनको सुरुमा रियल मिड्रड छोडेर इटालियन सिरी ए क्लब युभेन्टस पुगेका क्रिस्टियानो रोनाल्डोले आफ्ना सहकर्मी मार्सेलोलाई इटालीमा स्वागत गर्ने बताएका छन् । हालसालै एक अन्तर्वार्तामा बोल्दै उनले मार्सेलोलाई स्वागत गर्न युभेन्टस तयार रहेको बताएका हुन् ।
पछिल्लो समय रियल मड्रिडका खेलाडी ग्यारेथ बेल, इस्को, मार्को एसेन्सियो, केलर नाभासको नाम युभेन्टससँग जोडिएर आइरहेको छ । तर, युभेन्टसले भने अहिले ग्यारेथ बेल वा अन्य कुनै खेलाडीको आवश्यकता नरहेको बताइएको छ । तर, मार्सेलोलाई भने क्लबले स्वागत गर्ने उनले बताएका छन् ।
‘युभेन्टसलाई अझ शक्तिशाली बनाउन बेल चाहिँदैन । तर, मार्सेलोलाई स्वागत छ,’ रोनाल्डोले भने । उनले युभेन्टसका लागि बेल र मार्को एसेन्सियोभन्दा मार्सेलो महत्त्वपूर्ण खेलाडी हुने बताए ।
रियलमा छँदा रोनाल्डो र मार्सेलोबीच उत्कृष्ट तालमेल थियो । उनीहरूको व्यक्तिगत सम्बन्ध पनि सुमधुर रहेको थियो । रोनाल्डो युभेन्टस गएपछि सुरुबाटै मार्सेलो पनि रोनाल्डोसँग पुनः एक हुन इटाली सर्ने चर्चा छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४