बुधबार, भदौ १०, २०८३

डिल्लीचौर आयोजना अवरुद्ध हुँदा जुम्ला अन्धकार

 |  मंगलबार, चैत २७, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, चैत २७, २०८०

जुम्ला- जुम्लाको डिल्लीचौर जलविद्युत् आयोजना अवरुद्ध हुँदा स्थानीयवासी अन्धकारमा बस्न बाध्य भएका छन्। विद्युत् उत्पादनका निम्ति जल प्रवाह हुने नहर पहिरोले भत्काएपछि बिजुली आपूर्ति बन्द भएको हो। 

२५ मिटर नहर पहिरोले भत्काएको छ। विद्युत् सहकारीका अध्यक्ष कृष्णबहादुर बुढाले भने, 'गत असारमा पहिरो गएपछि नहर चर्किएको थियो। त्यतिबेलादेखि नै नहर मर्मतको पहल भएको हो।'  

समयमै मर्मत नभएपछि यही २४ चैतदेखि पूर्ण रूपमा विद्युत् सेवा अवरुद्ध भएको उनले जानकारी दिए। भत्केको नहर मर्मत गर्न ६ लाख बजेट आवश्यक पर्ने प्राविधिकले बताएका अध्यक्ष बुढाले जानकारी दिए।

विद्युत् अवरुद्ध हुँदा पातारासी पालिकाका-४, ५ र ६ वडाका करिब आठ सय घर विद्युत् सेवाबाट वञ्चित भएका छन् भने गाउँपालिका, वडासहित अन्य सरकारी निकाय, बैंक तथा वित्तीय संस्थालाई समस्या भएको छ।

डिल्लीचौर विद्युत् आयोजनाको नहर मर्मत गर्न पालिकाबाट तीन लाख रुपैयाँ बजेट विनियोजन भएको छ। तत्काल नहर मर्मत गरेर विद्युत् आपूर्तिको पहल थालिएको पातारासी गाउँपालिका अध्यक्ष पूर्णसिंह बोहराले बताए। 

प्रकाशित: Apr 09, 2024| 19:01 मंगलबार, चैत २७, २०८०
प्रतिक्रिया दिनुहोस्