आइतबार, पुस १३, २०८२

हिमालतिर लागे आरोही

 |  सोमबार, चैत २६, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, चैत २६, २०८०

काठमाडौं- हिमाल आरोहणको मुख्ययाम वसन्त ऋतु सुरु भएसँगै सर्वोच्च शिखर सगरमाथासहितका हिमाल आरोहण गर्न आरोहीहरु गन्तव्यतर्फ लागेका छन्।

National life

सगरमाथा, मकालु, अन्नपूर्ण, कञ्चनजङ्घा, धौलागिरी, ल्होत्से अमादब्लम, जुगललगायत हिमाल आरोहणका लागि नेपालसहित विभिन्न मुलुकका आरोही त्यसतर्फ लागेका हुन्।
     
पर्यटन विभागका अनुसार वसन्तऋतुमा सर्वोच्च शिखर सगरमाथासहित विभिन्न १६ हिमाल आरोहणका लागि ३६ आरोही समूहका ७४ महिला र दुई सय ६० पुरुष गरी कूल तीन सय ३४ आरोहण अनुमति लिएका छन्। सगरमाथा हिमालमा मात्रै १३ समूहका ३० महिलासहित एकसय ४९ आरोहीले अनुमति पाएका छन्।
     
हिमाल आरोहणको अनुमतिबापत हालसम्म रु २३ करोड ७५ लाख सात हजार सात सय ७६ रोयल्टी सङ्कलन भएको छ। सगरमाथाबाट मात्रै रु २० करोड ९८ लाख २२ हजार दुई सय आम्दानी भएको छ।
     
विभागको पर्वतारोहण शाखाका शाखा अधिकृत चुनबहादुर तामाङका अनुसार यस याममा सगरमाथासहित विभिन्न हिमाल आरोहणका लागि धमाधम आरोही अनुमति लिएर गन्तव्यतर्फ लागेका छन्। सगरमाथा आरोहणका लागि सर्वाधिक सङ्ख्यामा आरोही आइरहेका छन्। 

सगरमाथापछि सबैभन्दा बढी आमादब्लम हिमालमा चार आरोही समूहका ३८ जनाले अनुमति पाएका छन्। यस्तै ल्होत्से हिमालका चार आरोही समूहका ४५ जनाले अनुमति लिएका छन्। अन्नपूर्ण हिमाल आरोहणका लागि तीन आरोही समूहका २५ जनाले अनुमति लिएको विभागले जनाएको छ।
     
वसन्तऋतुमा सबैभन्दा बढी आरोही सगरमाथा आरोहणका लागि आउने गर्छन्। सेभेन समिट ट्रेक्स प्रालिका अध्यक्ष मिङ्मा शेर्पाले आफ्नो कम्पनीमार्फत यस याममा हालसम्म करिब १५ जना आरोही आरोहणका लागि आएको बताए। अहिले ६० हाराहारी आरोही अनुमति लिने प्रक्रियामा रहेकाले यसवर्ष पनि सगरमाथा आरोहण गर्नेको सङ्ख्या बढ्ने विश्वास उनले व्यक्त गरे। एसियन ट्रेकिङका अध्यक्ष एवं वरिष्ठ पर्यटन व्यवसायी आङछिरिङ शेर्पाले अहिले उल्लेख्य सङ्ख्यामा आरोही आइरहेको बताए। विभागका अनुसार अघिल्लो वर्षको वसन्तऋतुमा चार सय ७८ आरोहीले सगरमाथा आरोहणको अनुमति लिएका थिए।     

पर्वतारोहणसम्बन्धी नियमावली, २०५९ अनुसार वसन्तऋतुमा सगरमाथा आरोहणमा जानेबाट प्रतिव्यक्ति विदेशीलाई ११ लाख दस्तुर लाग्छ। नेपालीले भने ७५ हजार तिर्नुपर्छ। विदेशीले एक पटक सगरमाथा आरोहण गर्दा कम्तीमा रु ३० लाखदेखि रु एक करोडसम्म खर्च गर्छन्। 

मुलुकको पर्यटनको महत्वपूर्ण आधार मानिने पर्वतारोहण राजस्व आम्दानीका हिसाबले पनि महत्वपूर्ण मानिन्छ। यो याममा आरोहणका लागि बाटो खुलाउन शेर्पा आरोही डोरी टाँग्ने (रोप फिक्सिङ)का लागि सगरमाथा क्षेत्रमा खटिएको विभागले जनाएको छ। यो याममा सगरमाथा आरोहणका लागि रोप फिक्सिङ गर्ने जिम्मा सेभेन समिट ट्रेक्सले पाएको छ। 

Laxmi sunrise bank
kumari

उक्त कम्पनीमार्फत जाने दक्ष शेर्पाले सगरमाथाको दोस्रो शिविरदेखि चुचुरोसम्म बाटो खुलाउछन्। सगरमाथाको आधार शिविरदेखि दोस्रो शिविरसम्म सगरमाथा प्रदूषण नियन्त्रण समितिले बाटो बनाइरहेको छ। अहिले खुम्बु आइसफलमा बाटो बनाउने कार्य जारी रहेको समितिले जनाएको छ।

प्रकाशित: Apr 08, 2024| 18:03 सोमबार, चैत २६, २०८०
प्रतिक्रिया दिनुहोस्