आइतबार, पुस १३, २०८२

गलुवा-भकुण्डे सडक : ट्रयाक खुलेको २० वर्षपछि कालोपत्रे हुँदै

 |  सोमबार, चैत २६, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, चैत २६, २०८०

गलकोट- २०६० सालमा ट्रयाक खोलिएको बागलुङको गलुवा–भकुण्डे सडक कालोपत्रको चरणमा पुगेको छ। जनश्रमदान र चन्दा उठाएर खनेको सडक कालोपत्र हुन लागेपछि स्थानीयवासी हर्षित छन्। 

National life

बागलुङ नगरपालिका र सङ्घीय सरकारको समपूरक बजेटमा सडक कालोपत्र गर्न लागिएको हो। गलुवा–काउले–देउराली सडक अन्तर्गत रहेको ६ किमि सडकमध्ये पहिलो चरणमा तीन किमि सडक कालोपत्रको अन्तिम तयारीमा पुगेको छ।    

बागलुङ नगरपालिकाको रु पाँच करोड र सङ्घीय सरकारको रु पाँच करोड गरी १० करोड लागत अनुमान गरिएको सडक सात करोड २९ लाखमा केबी पूर्णचण्डी ताण्डवेश्वर जेबीसँग दुई वर्षमा काम सक्ने गरी २०८० जेठ १९ गते सम्झौता भएको थियो।

बागलुङ नगरपालिका–१० भकुण्डेका वडा अध्यक्ष तिलबहादुर थापाले भकुण्डे पुग्ने ६ किमि सडक कालोपत्रको योजना रहेकोमा पहिलो चरणमा तीन किमि सडक कालोपत्रको पूर्वाधार निर्माण भइसकेको जानकारी दिए। हाल सडक चौडा बनाउने, नाली, कल्भर्ट निर्माण, पक्की पर्खाल लगाउने, ग्याबिन जाली लगाउने र घुम्ती तथा भिरालो सडक ढलान गर्ने काम सकिएको अध्यक्ष थापाले बताए। 

सडक कालोपत्रका लागि आवश्यक पूर्वाधार निर्माण अन्तिम चरणमा पुगेको बागलुङ नगरपालिकाका इञ्जिनीयर सोविन घर्तीले जानकारी दिए। सम्झौता भएको नौ महिनामै सडकको पूर्वाधार निर्माण अन्तिम चरणमा पुगेपनि सङघ सरकारबाट चालु आर्थिक वर्षमा थप बजेट नआउँदा कालोपत्र गर्न ढिलाइ हुने नगरपालिकाले जनाएको छ। 

Laxmi sunrise bank
kumari

विसं २०८२ जेठ १९ गते सक्नुपर्ने कालोपत्रको काम त्यस अगावै सक्ने तयारीमा निर्माण व्यवसायी थिए, तर बजेट अभावले आगामी आर्थिक वर्षसम्म काम सकेर नगरपालिकालाई  हस्तान्तरण गर्ने तयारी छ। 

यस्तै नगरपालिकाको पञ्चकोट पुग्ने सडक कालोपत्र गर्न संघीय सरकार र बागलुङ नगरपालिकाको समपूरक योजनामा रु १० करोड लागत मूल्यांकन गरेर स्वीकृतिका लागि पठाइएको घर्तीले बताए। भकुण्डे जिल्लाकै पहिलो घरबास सञ्चालन गरिएको गाउँ हो। तर सडक स्तरोन्नति नहुँदा पर्यटकले सास्ती भोग्दै आएका थिए।

प्रकाशित: Apr 08, 2024| 22:01 सोमबार, चैत २६, २०८०
प्रतिक्रिया दिनुहोस्