बुधबार, भदौ १०, २०८३

१० बंगलादेशीलाई अध्यागमनमा बुझाइयो

 |  सोमबार, चैत २६, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, चैत २६, २०८०

काठमाडौं- भिसा सकिएर नेपालमा अवैधरुपमा बसिरहेका १० जना बङ्गलादेशी नागरिकलाई प्रहरीले पक्राउ गरी आइतबार अध्यागमन विभागमा बुझाएको छ। 

विभिन्न मितिमा नेपाल प्रवेश गरी भिसा सकिए पनि गैरकानुनीरूपले बसोबास गर्नुका साथै शंकास्पद गतिविधिमा संलग्न रहेको सूचनाका आधारमा खोजतलास गर्दा १० जना बङ्गलादेशी नागरिक पक्राउ परेका थिए। 

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक रविन्द्र रेग्मीका अनुसार प्रहरीको विशेष टोलीले काठमाडौँको सोह्रखुट्टे तथा ठमेल क्षेत्रबाट गैरकानुनी तवरले बसिरहेका उनीहरूलाई नियन्त्रणमा लिएको थियो। 

पक्राउपर्नेमा मोहम्मद अनिशुर रहमान, मोहम्मद अब्दुल्ला, मोहम्मद इमाउल हसन, मोहम्मद हाफिज रहमान, सजिव हसन, सैफुल इस्लाम, मोहम्मद विलल हसन, मोहम्मद सलिम, मोहम्मद नासिर उद्दीन र मोहम्मद एसिन खान रहेका छन्। 

एसपी रेग्मीले पक्राउ परेका उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि आज अध्यागमन विभाग, कालिकास्थान पठाइएको बताए। यसअघि पनि यसैगरी शंकास्पद गतिविधि गरिरहेको पाइएपछि प्रहरीले पाँच जना बङ्गलादेशी नागरिकलाई पक्राउ गरी अध्यागमनलाई बुझाइएको थियो। 

पछिल्लो समयमा बङ्गलादेशी नागरिकलाई युरोप पठाउने भन्दै नेपालमा ल्याएर बन्धक बनाउने तथा अवैधरुपमा नेपाल बस्ने घटना देखिन थालेकाले निगरानी बढाइएको प्रहरीले जनाएको छ।

प्रकाशित: Apr 08, 2024| 14:14 सोमबार, चैत २६, २०८०
प्रतिक्रिया दिनुहोस्