बुधबार, भदौ १०, २०८३

दाङका किसानलाई हिउँदे बाली भित्र्याउने चटारो

 |  आइतबार, चैत २५, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, चैत २५, २०८०

दाङ- अहिले गर्मीको मौसम छ। कोही खेतबारीमा गहुँ काटिरहेका छन्, कोही घरमा चना, मसुरोलाई दाइँ लगाइ रहेका छन् भने कोही टाउकोमा बोकेर तोरी घरतर्फ ल्याइरहेका देखिन्छन्।

अहिले यो दृश्य यहाँका खेतबारीमा काम गर्ने किसानको हो। उनीहरुलाई यतिबेला तोरी, गहुँ, मसुरो, चनालगायत हिउँदे बाली भित्र्याउन चटारो परेको छ। यसपटक दाङमा हिउँदमा खासै पानी परेन।

अहिले खेतमा गहुँ, चना, मसुरो पाकेकाले काट्न सुरु गरिएको दंगीशरण गाउँपालिका-३ की ४२ वर्षीया मैती चौधरीले बताइन्। उनले भनिन्, 'बाली भित्र्याउने बेला पानी पर्छ कि भन्ने डरले चर्को गर्मीमा पनि बाली भित्र्याउने हतार छ। पानी परेर भिज्यो भने वर्षभरिको मेहनत खेर जान्छ।'

उनले दुई बिगा जमिनमा गहुँ, एक बिघामा हिउँदे तोरी, १० कठ्ठामा मसुरो र पाँच कठ्ठामा चना खेती गरेको बताइन्।

तुलसीपुर उपमहानगरपालिका-१० गोलौरीकी ४५ वर्षीया सरस्वती कुवँरले कहिले बादल, कहीले गर्मी भइराखेको भन्दै एक्कासी पानी पर्‍यो भने खेतबारीमा उत्पादन भएको अन्नबाली नष्ट हुने बताइन्।

पानी पर्यो भने बाली स्याहार्न समस्या होला भनेर दिनभरि खेतमा काम गरिरहेको उनले बताइन्। 'बाली भित्र्याउने बेलामा एक्कासी पानी पर्‍यो भने नोक्सानी हुन्छ। त्यसैले हतारमा बाली भित्र्याइरहेका छौँ', उनले भनिन्।

केही दिनदेखि यहाँको मौसममा बदली भइ बादल लाग्ने र घाम लाग्ने भइरहेको छ। हिउँदभरि स्याहार गरेर जोगाएको अन्न पानी परेपछि कुहिने हो की भन्ने डर रहेको तुलसीपुर-६ की प्रमिला चौधरीले बताइन्। 'हाम्रो छ महिनाको मेहिनत हो। पानी परे कुहिन्छ की भन्ने डर पनि छ', उनले भनिन्।

दाङ तोरी उत्पादनका हिसाबले उत्तम जिल्ला मानिन्छ। जिल्लामा दुई सिजनमा तोरीखेती गरिँदै आइएको छ। करिब १७ हजार हेक्टर क्षेत्रफलमा तोरीखेती हुने दाङमा वर्षेनि २५ हजार मेट्रिकटनको हाराहारीमा उत्पादन हुने गर्छ। जिल्लामा हाल दंगीशरण, शान्ति नगर र बवइलगायतमा तोरी उत्पादन हुने जिल्लास्थित कृषि ज्ञान केन्द्रले जनाएको छ।

केन्द्रका अनुसार जिल्लामा १२ हजार हेक्टरमा गहुँ खेती हुँदा ३० हजार मेट्रिकटनको हाराहारीमा उत्पादन हुन्छ भने २७ हजार छ सय हेक्टर जमिनमा मसुरो खेती हुँदा २० हजार एक सय मेट्रिकटन उत्पादन भइरहेको छ। रासस

प्रकाशित: Apr 07, 2024| 21:01 आइतबार, चैत २५, २०८०
प्रतिक्रिया दिनुहोस्