आइतबार, पुस १३, २०८२

धुलाम्मे बाटो र साँघुरा मोडले सास्तीपूर्ण कर्णाली यात्रा

 |  आइतबार, चैत २५, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, चैत २५, २०८०

सुर्खेत- कर्णालीको राजधानी सुर्खेतबाट साविकको कर्णालीको मुगु पुग्न दुई दिन लाग्छ। धुलाम्मे बाटो र साँघुरा मोडहरुले यो खण्ड भएर यात्रा गर्दा निकै सास्ती हुने गरेको छ।

National life

सुर्खेतबाट मुगु पुग्न दुई दिन लाग्नुका साथै धुलोका कारण गाडी र यात्रु नचिनिने अवस्थामा गमगढी पुग्ने गरेका यातायात व्यवसायी बताउँछन्। एकतर्फी यातायातका साधन सञ्चालनमा समेत धौधौ पर्ने यो सडकमा यात्राभन्दा बढी सास्ती हुने गरेको पत्रकार महासंघ मुगुका अध्यक्ष नृपेन्द्र मल्लले बताए।

'ताल्चास्थित विमानस्थल सदरमुकामको माथिपट्टी भए पनि मौसममा समस्या आउनेबित्तिकै जहाज सजिलै आउन सक्ने अवस्था छैन। काठमाडौं पुग्ने जहाजको भाडाले नेपालगञ्जबाट मुगु आउन सकिन्छ', उनले भने।

मल्लका अनुसार सुर्खेत, दैलेख, कालिकोट, जुम्ला, मुगु हुँदै कर्णाली राजमार्ग हुम्लामा मिसिने गर्छ। हुम्लामा अझै राष्ट्रिय सडक सञ्जालसँग जोडिन नसकेको तितो यथार्थ रहेको भन्दै मुगुको सदरमुकाम गमगढीमा मुस्किलले ठूला बस सञ्चालन हुने गरेका उनले बताए।

एकोहोरो मात्र सञ्चालन हुने यो सडकमा गाडीहरु दुईतर्फी (विपरित दिशातर्फ) जान पहिले नै फराकिलो सडक भएको ठाउँमा रोक्नुपर्ने अवस्था छ। जुम्लासम्मको सडकमा कालोपत्रको काम भए पनि त्योभन्दा माथि कालोपत्र हुन सकेको छैन। धुलाम्मे सडकमा जोखिम मोल्दै जबरजस्ती यातायातका साधन भाग्यको भरोसामा कुदाउने गरेको चालक नवीन शाहीले बताए। बिहान गाडी चढेको व्यक्ति बेलुकीसम्म गन्तव्यमा पुग्नका लागि देवी, देवता पुकार गर्नुपर्ने उनको भनाइ छ।

Laxmi sunrise bank
kumari

पर्यटकीय क्षेत्र रारा मात्र नभइ नेपाली भाषाको उद्गमस्थल सिङ्जा यही साविकको कर्णालीमा छ। यहाँ विभिन्न धार्मिक पर्यटकीय क्षेत्र भए पनि यात्रुलाई भने सास्ती हुने गरेको छ।

धार्मिक तथा प्राकृतिक रुपमा रमणीय भए पनि यात्रा भने जोखिपूर्ण रहेको चालक शाहीले बताए। कालिकोटको केही क्षेत्रमा यात्रा गर्दा दोहोरो गाडी सञ्चालन गर्न मिले पनि जुम्ला, दैलेख खण्डका अधिकांश ठाउँमा एकतर्फी सञ्चालन गर्नुपर्ने बाध्यता रहेको उनको भनाइ छ।

राज्यले साविकको कर्णालीमा पूर्वाधार निर्माणका लागि प्रयाप्त बजेट विनियोजन गर्न नसकेको कर्णालीवासीले आरोप लगाउँदै आएका छन्। जल, जमिन, जडिबुटी तथा धार्मिक रुपमा प्रसिद्ध कर्णालीमा राज्यको लगानी भने न्यून मात्रामा रहदा यहाँ विकास हुन नसकेको मुगुका स्थानीय मिलन विकले बताए। हुम्लामा सडकको पहुँच विस्तार नहुँदा थप सास्ती हुने गरेको उनको भनाइ छ।

कर्णालीसम्म आउन सकिने रकमले विदेश घुमेर आउन सकिने अवस्था हाएको विकले बताए। यो सडकले त्रिदेशीय सीमा जोडेको छ। भारत र चीनसँग जोड्ने उक्त खण्डमा राज्यले पर्याप्त पूर्वाधार विकास नगर्दा आवागमनमा सास्ती हुने गरेको उनको भनाइ छ।

स्थानीय तह स्थापनासँगै केही कच्ची सडक कटानका काम भए पनि धुलाम्मे, साँघुरा सडक भएकाले  मृत्यु मार्ग जस्तै बनेका स्थानीयको आरोप छ। पक्की र कच्ची कटान भएको ठाउँमा एकतर्फी यातायातका साधन सञ्चालन गर्नुपर्दा थप सास्ती हुने गरेको सवारी चालक बताउँछन्।    -रासस

प्रकाशित: Apr 07, 2024| 14:53 आइतबार, चैत २५, २०८०
प्रतिक्रिया दिनुहोस्