बुधबार, भदौ १०, २०८३

लहान नगरपालिकाले तिरिदियो किसानको १४ लाख कृषि विद्युत महसुल

 |  शनिबार, चैत २४, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, चैत २४, २०८०

सिरहा- सिरहाको लहान नगरपालिकाले नगरभित्रका किसानले सिँचाइका लागि प्रयोग गर्दा लागेको कृषि विद्युत् महसुल बुझाएको छ। आर्थिक वर्ष २०७९/८० मा कुल एक हजार दुई सय ३४ किसानले प्रयोग गरेका कृषि महसुलबापतको १४ लाख आठ हजार रूपैयाँ नगरपालिकाले विद्युत् प्राधिकरणलाई बुझाएको हो।

आज एक समारोहबीच नगरप्रमुख महेशप्रसाद चौधरीले विद्युत् प्राधिकरण लाहान वितरण केन्द्रका लेखा प्रमुख जितेन्द्र झालाई चेक हस्तान्तरण गरे। चेक हस्तान्तरण गर्दै नगरप्रमुख चौधरीले किसानलाई कृषि पेसामा आकर्षित गर्ने उद्देश्यले यस कार्यक्रम सञ्चालन गरिएको बताए।

उनले भने, 'यहाँका किसानले विद्युत् ‘हुकिङ’ नगरून्, कृषिमा आकर्षित हुन् भन्ने उद्देश्यले यस कार्यक्रम सञ्चालन गरेका हौँ। यसबाट किसानलाई प्रत्यक्ष लाभ पुगेको अनुभूति गरेका छौँ। आगामी दिनमा पनि यस कार्यले निरन्तरता पाउने छ।'

पालिकाले गत असारमा सम्पन्न नगरसभाबाट कार्यविधि पास गरी प्रमाणीकरण गरेको भए पनि लेखा तथा प्रशासकीय प्रमुख नियमित नहुँदा भुक्तानीमा ढिलाइ भएको नगरप्रमुख चौधरीले जानकारी दिए। उनले आव २०८०/८१ मा सात सय कृषक परिवार थप हुने भन्दै आगामी दिनमा नगरभित्रका बाँकी किसानलाई पनि यस योजनामा समेट्दै जाने बताए।

लामो समय खडेरी पर्दा किसानले भूमिगत सिँचाइको सहयोगमा खेतीपाती गर्ने गरेका छन्। यस्तो बेलामा नगरले विद्युत् महसुल तिरेर किसानलाई राहत दिएको उनीहरुको भनाइ छ। रासस

प्रकाशित: Apr 06, 2024| 14:00 शनिबार, चैत २४, २०८०
प्रतिक्रिया दिनुहोस्