काठमाडौं–अर्थमन्त्री डा. युवराज खतिवडाले पुँजी बजारमा देखिएको उतारचढावलाई सामान्य रूपमा लिनुपर्ने बताएका छन् । संसद्को अर्थ समिति बैठकमा मंगलबार उपस्थित मन्त्री खतिवडाले भने, ‘अहिले पुँजी बजारमा देखिएको उतारचढाव बालबालिकलाई दाँत आउँदाखेरिको दुखाइजस्तो मात्र हो । केही समयपछि सबै ठिक भइहाल्छ ।’
अर्थमन्त्री खतिवडाले वित्त बजार सन्तुलनका लागि पुँजी वृद्धि आवश्यक रहेको बताए । उनले भने, ‘दुई अंकको आर्थिक वृद्धि गर्न पुँजी बजार बढाउन आवश्यक छ ।’ उनले सेयर बजारमा देखिएको समस्या सेयर र वित्त बजारसम्बन्धमा अध्ययन गर्न गठित कार्यदलको प्रतिवेदन आएपछि समाधान हुने बताए । अर्थ मन्त्रालयले एक साताअघि सेयर बजार र वित्त बजारसम्बन्धी कार्यदल बनाएको थियो । कार्यदललाई शुक्रबारसम्म प्रतिवेदन बुझाउन भनिएको छ ।
गभर्नर चिरञ्जीवी नेपालले पुँजी बजारमा सीमित व्यक्ति र समूहले मात्र लगानी गरिरहेकाले त्यसलाई सामान्य नागरिकसम्म गर्न आवश्यक रहेको बताए । उनले भने, ‘व्यक्तिव्यक्तिले सेयरमा लगानी गर्न पाउने वातावरण तयार गर्नुपर्छ । अनिमात्र देशको अर्थतन्त्रमा विकास हुन्छ ।’
धितोपत्र बोर्डका अध्यक्ष रेवतबहादुर कार्कीले सेयर बजारको प्राथमिक बजारमा सबैको पहुँच भइसकेको भन्दै दोस्रो बजारमा पनि पहुँच विस्तार गर्न लागिएको जानकारी दिए ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४